जुम्ला । दृष्टिविहीन विद्यार्थीहरु बस्ने छात्रावासमा पानी नहुँदा समस्या भएको छ । छात्रावासमा पानी नहुँदा विद्यार्थीहरु दिनहुँ घण्टौँ हिँडेर पानी लिन जान बाध्य छन् ।
सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यामिक विद्यालय नराकोटमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाको छात्रावासमा बस्ने विद्यार्थीहरुका लागि पानी नहुँदा उनीहरुको अधिकांश समय पानी लिन जानमा नै बित्छ ।
छात्रावासमा पानी नहुँदा बिहानैदेखि लाइन लाग्नु पर्नै बाध्यता रहेको विद्यार्थी चैतु बुढाले बताउनुभयो । ‘खानेपानी नहुँदा नराकोट गाउँमा पुगेर हरेकका धारा चाहार्नुपर्छ । पालो पाएपछि पानी भरेर ल्याउने भएकाले कतिपय दिन विद्यालय जान पनि ढिलो हुन्छ,’ चैतुले भन्नुभयो ।
‘छात्रावासमा शौचालय छन् । खानेपानीका धारा पनि छन् । नुहाउने बाथरुम छन्, खानेपानीको ट्यांकी पनि छन् तर कसैले पनि पानी जडानमा ध्यान नदिँदा विद्यार्थीहरु शौचालय गर्न जंगल जानुपर्ने बाध्यता छ’, दृष्टिविहीन स्रोत कक्षाकी शिक्षिका शान्ति रोकायाले गुनासो गर्नुभयो ।
दृष्टिविहीन विद्यार्थीहरु शौचालयका लागि जंगलमा जाने गरेको र कहिलेकाहीँ फोहोर कुल्चेर आउने गरेको बताउनु भयो । पानी नहुँदा कपडा धुन भिरालो बाटो एक घण्टा लगाएर हिमा नदीमा जानपर्ने र विद्यार्थी नदीमा बग्छन् कि भन्ने डरले पिरोलिरहेको शिक्षिका रोकायाले बताउनुभयो । छात्राहरु महिनावारी हुँदा निकै ठूलो समस्या हुने गरेको उहाँले भन्नुभयो ।
धेरै पटक यो समस्या विभिन्न सरोकारवाला निकायहरुसँग राख्दा पनि सुनुवाइ हुन सकेको छैन । गाउँपालिकाले पनि खानेपानीका लागि सहयोग गर्छु भनेको छ तर गरेको छैन’, स्रोतकक्षा शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो ।
विद्यालयका निमित्त प्रधानाध्यापक देवराज धितालले भन्नुभयो, ‘खानेपानीको मुहान टाढा छ तर छात्रावासमा पटक पटक धारा जोडे पनि बीचमा काट्ने चलन भएकाले समस्या भएको छ ।’
प्रतिक्रिया