पोखराको लेकसाइडमा भारतीय मगन्तेको बिगबिगी,पर्यटकको कपडामै झुण्डिएर माग्ने



चिप्लेढुङ्गा । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ ।

सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन् ।

लेकसाइडमा भारतीयमूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् । झुत्रा कपडासहित एक दुई महिनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि यसले गलत सन्देश जाने ट्रेकिङ इक्विपमेन्ट एशोसिएसन पोखरा (टेसा)का द्वितीय उपाध्यक्ष एवं पर्यटन व्यवसायी प्रमोद भण्डारीले बताए । उनले भने, ‘एउटा मुलुकको पर्यटकीयस्थलमा अर्को मुलुकबाट आएका नागरिकको मगन्ते प्रदर्शनले पोखरा घुम्न आएका पर्यटकले आफ्नो मुलुक फर्कंदा कस्तो सन्देश लिएर जालान् ?’

आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मनाइरहेका सन्दर्भमा सडकभरि देखिने मगन्ते प्रदर्शनप्रति सरोकारवाला निकायको ध्यान नजानु दुःखको कुरा भएको पश्चिमाञ्चल होटल सङ्घका कोषाध्यक्ष पार्वती पाण्डेको भनाइ छ । ‘बिहान ६ः०० बजेदेखि रातिसम्म पनि पर्यटकलाई माग्नेहरुले सास्ती दिएको देखिन्छ, सरोकारवाला निकायले दीर्घकालीन समस्याको समाधानतिर ध्यान नदिँदा यो सधैँको समस्या बनिरहेको छ,पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत पहारीले स्थानीयवासीबाट यस विषयमा गुनासो आइरहेको बताए ।

अर्को मुलुकको नागरिक भएका र अन्यत्र व्यवस्थापनका लागि ठाउँसमेत नभएकाले यो चुनौतीको विषय बनेको उनको भनाइ छ ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख कोमल शाहले प्रहरीले शान्ति सुरक्षाको विषयलाई हेर्ने भएकाले सडकका माग्नेहरुलाई ल्याएर प्रहरी चौकीमा राख्ने ठाउँ नभएको बताए । उनले भने, ‘यो चुनौतीको विषय छ, प्रहरीले धरपकड गरेर ल्याउने कुरा भएन, उनीहरुका लागि व्यवस्थापन गर्ने छुट्टै ठाउँ पनि छैन ।’ सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्न प्रहरी तयार रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार