मुस्ताङबाट ३० हजारबढी भेडा–च्याङ्ग्रा बिक्रीका लागि झारिँदै



म्याग्दी । नेपालीको महानपर्व दशैंलाई लक्षित गरेर हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा नेपालका विभिन्न ठाउँमा बिक्रीका लागि झारिँदै छन्। पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगसहित किसानहरूको भेडापालनप्रतिको आकर्षणले विगतका तुलनामा यस वर्ष भेडा–च्याङ्ग्राको संख्या बढेको किसानहरु बताउँछन्।

मुस्ताङ जिल्लाकको समेत जिम्मा पाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमका अनुसार यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा झारिँदै छन्।
दशैं तिहारका लागि मुस्ताङका साथै चीनको तिब्बतबाट समेत भेडा–च्याङ्ग्रा नेपाल ल्याउने चलन छ । मुस्ताङका किसानहरुका लागि भेडा–च्याङ्गा्रा आम्दानीको बलियो स्रोत हो।

यस वर्ष मुस्ताङ्गी भेडा–च्याङ्ग्राको मूल्य प्रतिगोटा १७ हजारदेखि लिएर ३० हजार रुपैयाँसम्म रहेको मुस्ताङबाट फर्केका कृष्ण शर्माले जानकारी दिए। हिमाली क्षेत्रको जडिबुटी खाने भएकाले मुस्ताङ्गी भेडाच्याङ्ग्राको मासु स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ।

उनका अनुसार तल्लो मुस्ताङमा फाट्टफुट्ट भेडा–च्याङ्ग्रा झरेका छन्। बेनी–जोमसोम सडकमा पनि मुस्ताङ्गी भेडा–च्याङ्ग्रा आइपुगेका छन् भने म्याग्दीको सदरमुकाम बेनीमा भित्रिने क्रम शुरु भएको छ। तर, बेनी–जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा–च्याङ्ग्रा समयमै बजारमा पु¥याउन समस्या भएको उनले बताए।

सम्बन्धित समाचार