नेपालमा लगानी बढाउने एनआरएनएको प्रतिबद्धता



काठमाडौं । गैरआवासीय नेपालीहरुले नेपालमा लगानी बढाउने प्रतिबद्वता गरेका छन् । मुलुक आर्थिक विकासको दिशातर्फ उन्मुख भएको भन्दै गैरआवासीयहरुले सामूहिक तथा व्यक्तिगत लगानी गर्न प्रतिबद्व देखिएका हुन् ।

गैरआवासीय नेपाली संघको ९औँ विश्व सम्मेलनका क्रममा जारी १२ बुँदे घोषणपत्रमा नेपालमा लगानीको उपयुक्त वातावरण सिर्जना हुँदै गएकाले लगानी विस्तार गर्ने बताएका हुन् । नेपालको जलविद्युत, पर्यटन, बैँकिङ, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि, सूचना तथा सञ्चार प्रविधिलगायतका क्षेत्रहरूमा लगानी गर्ने घोषणपत्रमा उल्लेख छ । लगानीको वातावरण अझै राम्रो हुँदै गएमा विभिन्न क्षेत्रमा लगानी भित्रिने उनीहरुको विश्वास छ ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न गैरआवासीय नेपाली संघले ठूला आयोजनामा लगानी गर्ने भएको छ । नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्ताहरूसंग समन्वय गराउने र सहजीकरण गरी स्वदेशमा बाह्य लगानी, प्रविधि, शीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ता भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

संघले विदेशी लगानी आकर्षित गर्न दोहोरो करको समस्या  सम्बोधन गर्न माग गरेको छ । लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकसँग अबिलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता गर्नुपर्नेमा जोड दिइएको छ । संघले लगानी प्रबद्र्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार