पूर्वी क्षेत्रमा गत वर्षभन्दा धान उत्पादन १२ प्रतिशतले वृद्धि



विराटनगर । देशको पूर्वी क्षेत्रमा गत वर्षभन्दा बढी धान फलेको छ । प्रदेश १ मा यस वर्ष १२ लाख ४१ हजार ६३९ मेट्रिक टन बर्खे धान उत्पादन भएको कृषि निर्देशनालय कार्यालय, विराटनगरले जनाएको छ । यो गत वर्षको तुलनामा १२ प्रतिशतले बढी हो ।

प्रदेश १ मा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा धान लगाइएको थियो । गत वर्ष तीन लाख २२ हजार १८३ हेक्टरमा धान रोपिएकोमा ११ लाख आठ हजार ६०६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

अनुकूल मौसम, बीउको सहजता, रसायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बढेको वरिष्ठ कृषि प्रसार अधिकृत डांगीको भनाइ छ ।

प्रदेश १ मा धान लगाउने क्षेत्रफल तीन लाख ३५ हजार ५ सय २९ हेक्टर जग्गा भए पनि अन्य बालीले ठाउँ ओगट्न थालेपछि धान खेतीको क्षेत्रफल घटेको हो । उच्च पहाड (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा) ८.७० प्रतिशत, मध्य पहाड (इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर) मा ९०.१८ प्रतिशत र तराई (झापा, मोरङ र सुनसरी) ९८.३२ प्रतिशत धान रोपाइँ भएको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार ७१२ हेक्टर, सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर, पाँचथरमा आठ हजार ८३४ हेक्टर, इलाममा १३ हजार ३३३ हेक्टर, भोजपुरमा १५ हजार ३७८ हेक्टर, तेह्रथुममा आठ हजार २४१ हेक्टर, धनकुटामा सात हजार ७११ हेक्टर, उदयपुरमा १२ हजार ७११ हेक्टर, ओखलढुङ्गामा तीन हजार ५२२ हेक्टर, खोटाङमा १२ हजार २५३ हेक्टर, झापामा ८७ हजार ६२ हेक्टर, मोरङमा ७६ हजार ४४० हेक्टर, सुनसरीमा ५३ हजार ९०० हेक्टर जग्गामा धान लगाइएको थियो ।

सम्बन्धित समाचार