मोरङ । आईतबार ७ वटै प्रदेश प्रमुखलाई हटाईएपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ ।
प्रदेश १ मा प्रमुखका लागि बिष्णु प्रसाईको नाम सिफारिस भएको छ । झापाको काकरभिट्टा निवासी प्रसाई २०५४ सालको स्थानीय निर्वाचनबाट जिविस झापाका उपसभापतिमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेका जिल्लास्तरका नेता प्रसाई २०५६ सालको संसदीय निर्वाचनमा झापा १ बाट कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङसंग झिनो मतान्तरले पराजित बने ।
उनी गत स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकामा एमाले बाटै मेयर पदका प्रत्यासी थिए । उनीसँगै प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन् ।
बैठकमा विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली, वेदुराम भूषालका लगायतका नाम पनि प्रस्ताव गरिएका थिए ।तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको थियो ।
भण्डारीले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम सातै प्रदेश प्रमुखहरुलाई आइतवारै पदमुक्त गरिसकेकी थिइन् । सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो । जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो । कांग्रेसले निर्वाचनमा पराजय बेहोरेपछि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाउने नेकपाले त्यतिबेला अभिव्यक्ति दिएको थियो ।
प्रतिक्रिया