प्रदेश १ का निवर्तमान प्रमुखलाई शेरधन राईले गरे बिदाई



विराटनगर । पदमुक्त भएका प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारीसहितले विदाई गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई आइतबार पदमुक्त गरेकी थिइन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरूको नियुक्ति गरेको थियो।

सोमबार निवासमै तुम्बाहाङले मुख्यमन्त्री, सभामुख, उपसभामुखसहितसँग विदाइ भेट गरेका थिए।  मुख्यमन्त्री राईले कार्यरत अवधिमा सुखद सहकार्य भएको स्मरण गर्दै तुम्बाहाङको प्रशंसा गरेका थिए। भेटका अवसरमा मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई मायाको चिनो करुवा प्रदान गरेका थिए। त्यसक्रममा उनले सरकार र प्रदेश प्रमुखबीच सुसम्बन्ध रहेकोले पदमुक्त नगर्दा हुने भन्ने सुझाव दिएको स्मरण गरेका थिए।

मुख्यमन्त्री राईले झण्डै २० महिनाको अवधिमा भएको सहकार्यको प्रशंसा गरेको प्रदेश प्रमुख तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए। निवर्तमान प्रदेश प्रमुख तुम्बाहाङले पदमुक्त हुने निर्णयलाई आफूले स्वाभाविक र सहजरुपमा लिएको प्रतिक्रिया दिएका छन्। बिदाइपछि सोमबार अपरान्ह नै तुम्बाहाङ काठमाडौं फर्किएका छन्।

सम्बन्धित समाचार