जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट बच्न सौर्य विद्युत्को तारबार लगाउने कार्य सुरु



भद्रपुर । भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युत्को तारबार लगाउने कार्य तीव्ररुपमा अघि बढाइएको छ । तारबारपछि चरिचरन क्षेत्रमै हात्ती खुम्चिन थालेका छन् । सरकारले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कचनकबलदेखि उत्तरी भाग बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो सौर्य विद्युत्को तारबार लगाउने कार्य गरिरहेको छ ।

त्यसमध्ये हालसम्म ४६ किलोमिटर लामो बार निर्माण भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार दक्षिण क्षेत्रको हल्दिबारीस्थित जलथल जङ्गलको वरिपरि २८ किलोमिटर लामो सौर्य विद्युत्को तारबार निर्माण भइसकेको र थप निर्माणकार्य जारी रहेको छ ।

यसैगरी, उत्तरतर्फ बाहुनडाँगीको तिरिङदेखि काँकडभिट्टासम्मको १८ किलोमिटर भागमा सौर्य विद्युतीय तारको बार विसं २०६६ मै सम्पन्न भइसकेको छ । वन मन्त्रालयले गत आर्थिक वर्षमा विनियोजन गरेको रु छ करोड बजेटबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले उक्त विद्युतीय तारबार बनाएको हो । कोषले एक कम्पनीलाई दिएको ठेक्कामार्फत तारबारको काम भइरहेको छ ।
आगामी आवमा तारबारको सम्पूर्ण कार्य सम्पन्न भइसक्ने अनुमान छ ।जिल्लाका पूर्वी भागका सबै नगरपालिका र गाउँपालिकामा जङ्गली हात्तीले वर्षौदेखि आतङ्क मच्चाउँदै स्थानीयवासीको ज्यानसमेत लिने गरेको छ । विगत दुई दशकमा ३९ भन्दा बढीले हात्तीको आक्रमणबाट जीवन गुमाइसकेका छन् भने दर्जनौँ हात्ती मारिएका छन् । भारतको आसामदेखि आउने हात्ती चरनका लागि सीमावर्ती बाहुनडाँगीबाट नेपाल पसेर कोशी टप्पुसम्म ओहोरदोहोर गर्दै आएका छन् । पुख््र्यौली चरिचरन क्षेत्र भएका कारण झापाको जङ्गलमा हात्तीले बासस्थानसमेत बनाउने गरेका छन् ।

सम्बन्धित समाचार