नोवेल शिक्षण अस्पतालमा शिशुको मृत्यु, दुई लाख ५० हजारमा मिलाइयो घटना



विराटनगर । विराटनगरको नोवेल शिक्षण अस्पतालमा शिशुको मृत्यु भएको घटना पैसाको लेनदेनमा मिलाइएको छ । जन्मिएको २४ घण्टा भित्रै चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पतालसँग रकमको ‘बार्गेनिङ’ गरेका थिए ।

प्रसूति व्यथाले च्यापेपछि सुनसरीको बर्जु गाउँपालिका-६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीया माण्डवी राईलाई गत सोमबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।  दीपक विराटनगरको कान्तिपुर कलेजका सञ्चालक र अंग्रेजी विषयका प्राध्यापक पनि हुन्। शल्यक्रिया नगरिकन सामान्य अवस्थामै माण्डवीले मंगलबार बिहान ५:४२ बजे दोस्रो सन्तानका रुपमा तीन किलो तौल भएको छोरा जन्माएकी थिइन् ।

दीपककाअनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले बुधबार डिस्चार्ज दिने तयारी गरेको थियो । तर बुधबार बिहान ५ बजे नै शिशुको मृत्यु भयो । अस्पतालका एक कर्मचारीकाअनुसार चिकित्सकको निगरानीमा रहेको शिशुको मृत्यु भएपछि आफन्तले शव जिम्मा लिन अस्वीकार गर्दै पैसाको ‘बार्गेनिङ’ गरेका थिए ।

दीपकसहित उनका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्ता दुई लाख ५० हजार रुपैयाँको लेनदेनमा टुँगिएपछि बुधबार साँझ अस्पतालबाट मृत शिशु बाहिर निकालिएको उनले बताए।

वार्ताकै क्रममा ‘जीवित शिशु त हामी माग्दैनौं, त्यसको साटो अस्पतालले के दिन्छ’ भन्दै दीपकका आफन्त गजेन्द्र चौधरीले ‘बार्गेनिङ’ सुरु गरेका थिए ।सुरुमा पाँच लाख रुपैयाँ माग गरिए पनि अन्त्यमा दुई लाख ५० हजार रुपैयाँमा कुरो मिलेको अस्पतालका एक कर्मचारीले बताए । ‘अस्पताल एक लाख ५० हजार रुपैयाँ दिन तयार भयो,’ ती कर्मचारीले भने, ‘तर अडान नछाडेपछि एक लाख रुपैयाँ थप गरिदियौं ।’

बुवा दीपकले चिकित्सकले कुनै ध्यान नदिएका कारण भर्खर जन्मिएको छोरो गुमाउनु परेको बताए । ‘पहिलो सन्तान छोरी थिइन् । दोस्रो सन्तान छोरा भएपछि परिवारमा निक्कै खुसी छाएको थियो,’ उनले भने, ‘तर जन्मिएको २४ घण्टासम्म चिकित्सकले नहेरेका कारण घटना भयो । छोरो हुँदाको खुसी २४ घण्टा पनि टिक्न पाएन ।’

मंगलबार राति ११ बजेदेखि रुन थाले पनि ड्युटीमा भएका नर्स र चिकित्सकले वास्ता नगरेको दीपकको भनाइ छ । ‘सुरुमा आमाको दूध नआएका कारण डाक्टरले नै ल्याक्टोजिन खुवाउन सल्लाह दिए । खुवाउँदै गर्दा नानी एक्‍कासी रुन थाल्यो, ‘ उनले भने, ‘बुधबार बिहान ४ बजेदेखि रुन कम पनि कम भयो र निलो हुँदै गएपछि आत्तिएर नर्सलाई सुनाएँ । नर्स र म नै डाक्टरको खोजीमा लागे पनि भेट्टाउन सकेनौं ।’

धेरैपछि भेटिएका डा. सुजित यादव र मधु साहले एनआईसीयूमा राख्न सल्लाह दिए पनि त्यतिबेला शिशुको मृत्यु भइसकेको दीपकको भनाइ छ । ‘एक घण्टाभन्दा बढी खोजे पनि चिकित्सक भेटिएनन्,’ उनले भने, ‘पछि भेटिँदा छोराको मृत्यु भइसकेको थियो ।’ समयमै उपचार पाउन सकेको भए छोरो बाँच्ने भन्दै उनले उपचारनै नपाएर घटना भएकाले यसमा अस्पताल र चिकित्सकको गम्भीर लापरबाही रहेको बताए ।

शिशुका काका राम राईले अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै दुई लाख ५० हजार रुपैयाँ दिने भनेपछि आफूहरुले मृत शिशु लगेर दाहसंस्कार गरेको सुनाए । वरिष्ठ बाल रोग विशेषज्ञ डा. अरुण गिरीले ल्याक्टोजिन सर्किएर शिशुको मृत्यु भएको हुन सक्ने बताए । ‘खुवाउन नजानेका कारण ल्याक्टोजित सर्किएर मृत्यु भएको हुनसक्छ,’ उनले भने, ‘हाइपोथर्मिया (शरीरको तापक्रम कम भएर हुने चिसोपना) ले पनि यस्तो हुन्छ ।’

डा. गिरीकाअनुसार बच्चाको शरीरमा ३६.५ देखि ३७.५ सेन्टिग्रेटसम्म तापक्रम हुन आवश्यक छ । त्यो भन्दा कम तापक्रम भए शिशुको मृत्यु हुने जानकारी दिँदै उनले भने, ‘समयमै विशेषज्ञले भेट्न पाएको भए शिशुमा यो समस्या रहेछ भन्ने थाहा हुने थियो।’

अस्पतालले पनि शिशुका आफन्तले खोजेका बेला पुग्न नसक्नु र शिशुको मृत्यु हुनुमा चिकित्सकको कमजोरी रहेको स्वीकार गरेको छ । ‘शिशुको मृत्युका कारण लफडा हुने अवस्था आयो,’ अस्पताल स्रोतले भन्यो, ‘कुनै समस्या नआओस् भनेर लेनदेनमा कुरा टुँगो लगाउँदै तत्काल घटनालाई सामसुम पारिएको हो ।’ अस्पतालका प्रबन्धक नारायण दाहालले सुत्केरीको स्याहारका लागि भनेर अस्पतालले केही रकम सहयोग गरेको बताए ।

सम्बन्धित समाचार