विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ मा रहेको खदम खोलामा सधैं तस्करहरुको नजर परिहाल्छ । यहाँको ढुंगा, गिट्टी र बालुवा उत्कृष्ट रहेको पाइएपछि तस्करको नजर नपर्ने कुरै भएन । अन्यत्रबाट पनि वन क्षेत्र भएर बग्ने यही खोलाको खोलाजन्य वस्तुको माग बढी हुने गरेको छ । तस्करले निषेधित घोषणा गरिएको वन क्षेत्र भएर बग्ने यही खोलामा दोहनका लागि प्रयोग गरेका तीनवटा जेसिबीलाई चालकसहित गत शनिबार प्रहरीले पक्राउ गयो ।
खोला उत्खनन् र दोहनमा प्रयोग गरिरहेका बेला एकै पटक तीनवटा जेसिबी पक्राउ परेको यो पहिलो घटना हो । नियन्त्रणमा लिइएका को १ क १७४०, को १ क १४६६ र को १ क ३१५९ नम्बरका जेसिबीका चालक थिए केराबारी–३ का २५ वर्षीय विक्रम याक्खा, उदयपुरको त्रियुगा नगरपालिका–१ का १९ वर्षीय भीमराज विष्ट र दाङ तुलसीपुर नगरपालिका–५ का २८ वर्षीय भूपेन्द्र डाँगी । जेसिबी केराबारीकै मखन तामाङ, प्रकाश घिमिरे र मोहन लिम्बूको हो । प्रहरीले जेसिबीका मालिक स्थानीय स्तरमा गुण्डागर्दी र असुली धन्दा चलाउने व्यक्ति भएको जनाएको छ ।
जेसिबी पक्राउ परेपछि कारबाही नगरिकन छाड्न प्रहरीलाई ठूलै दबाब आएको थियो । प्रहरीले भने वन कार्यालयको जिम्मा लगाएको छ । कारबाही गरे पनि वन कार्यालयको जिम्मा नलगाइकन जिल्ला समन्वय समिति वा केराबारी गाउँपालिकामा बुझाउन ठूलै राजनैतिक दबाब आएको स्रोतले बतायो । समन्वय समिति वा गाउँपालिकामा बुझाए जरिवाना तिरेर छुट्न सक्ने भएकाले यस्तो दबाब दिइएको एक प्रहरीले बताए ।
तर पक्राउ गरिएका जेसिबीसहित चालक विरुद्ध सोमबार वन ऐन २०७६ अन्तर्गत कारबाही अघि बढाउन अदालतबाट म्याद थप गरिएको शव डिभिजन वन कार्यालय केराबारीका प्रमुख विक्रम अमात्यले बताए । ‘वन क्षेत्रमा भएको अवैध उत्खनन्माथि कारबाही अघि बढाउने निकाय वन कार्यालय हो,’ उनले भने, ‘त्यही भएर यस घटनालाई मुद्दाका रुपमा अघि बढाइएको छ ।
’त्यस्तै वन क्षेत्रबाट उत्खनन् गरिएका ढुँगासहित लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाबाट प्रहरीले शुक्रबार तीनवटा ट्याक्टर नियन्त्रणमा लियो । को २ त ३०१७, को २ त ६९०० र को ३ त ८६ नम्बरका ट्याक्टरलाई १५ हजार रुपैयाँका दरले जरिवाना गर्दै जिल्ला समन्वय समिति मोरङले छाडिदिएको प्रहरीले जनाएको छ । केराबारी र लेटाङमा वन क्षेत्र भएर बग्ने खोलामा लामो समयदेखि जारी दोहन र अवैध उत्खनन् रोकिएको छैन ।
प्रतिक्रिया