काठमाडौं । उदयपुरको वेलकामा सिसुवा खोलाको ढुंगा ओसार्ने २० वटा टिपर र एउटा स्काभेटर स्थानीयले नियन्त्रणमा लिएपछि विवाद चर्किएको छ ।बेलका नगरपालिका ४ र ६ को सीमानामा पर्ने सिसुवा खोलाबाट रातभर ढुंगा ओसारिएको भन्दै स्थानीयले ३ दिनअघि टिपर र स्काभेटर नियन्त्रणमा लिएका थिए ।
स्थानीयले नियन्त्रणमा लिएका सबै टिपरहरु सिरहाको बीपी कन्स्ट्रक्सनका हुन् । उक्त कम्पनीले ३ करोड ५६ लाख रुपैयाँमा गत भदौमा सिसुवा खोलाबाट ढुङ्गा झिक्ने ठेक्का पाएको थियो ।
मध्यरातमा टिप्परले ढुंगा ओसार्दा सुत्न नपाएको भन्दै स्थानीयले टिपर रोकेर विरोध गरेका थिए । अहिले स्थानीयले ठेक्का नै खारेज गर्नुपर्ने माग राखेका छन् । यो विवाद अहिले जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । ‘अहिले हामीले मिलाउने प्रयास गरिरहेका छौं’ प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले भने, ‘जायज माग सम्वोधन गर्ने विषयमा म मेयरसँग सम्पर्कमै छु, तर उहाँहरुले ठेक्का नै खारेजीको माग राख्नुभएको छ भन्ने सुनिएको छ ।’
बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले संवादबाट निकास निकाल्न आफू तयार रहेको बताएका छन् । टिपरले राति ढुंगा लगेर स्थानीयलाई डिस्टर्ब गर्नु ठेकेदारको गल्ती भएको मेयर थापाको भनाइ छ ।
प्रतिक्रिया