तमोर नदीमा र्‍याप्टिङ



ताप्लेजुङ।‘तमोर नदीमा र्‍याप्टिङ (जलयात्रा) गर्दा अति नै रमाईलो हुन्छ। कहिले काहीँ डर पनि लाग्छ, यस्तोमा नै रमाउने हो।’ २४ जनाको विदेशीहरुलाई नेतृत्व गरेर आएका इटालियन नागरिक डेभिडले तमोर नदीमा र्‍याप्टिङ गर्नुअघि भने। पछिल्लो समय उनीसहित अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स, इटालीका नागरिकले आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सिमाना रहेको तमोर दोभानबाट र्‍याप्टिङ सुरु गरेका छन्। र्‍याप्टिङको सिजन सुरु भएसँगै यस नदीमा विभिन्न कम्पनीले करिब ५० जना विदेशीलाई र्‍याफ्टिङ गराएका छन्।

दोभानबाट सुरु भएको जलयात्रा कावेली दोभान, माझीटार, मूलघाट हुँदै ५ दिनमा चतारा पुग्‍न सकिन्छ। यस जलयात्रा रुटलाई निकै साहसिक रुट मानिन्छ। ‘र्‍याफ्टिङ  गर्न विश्वमा भएका कुनै पनि नदीमा यति रमाइलो हुँदैन।’ अर्का विदेशी नागरिक जोनले भने ‘यहाँको प्राकृतिक सुन्दरताले नै लोभ्याउँछ।

’ ६ जना जापानी नागरिकलाई र्‍याफ्टिङका लागि लिएर आएका र्‍याफ्टिङ स्टार कम्पनीका र्‍याफ्टिङ गाइड सुरेसकुमार चौधरीका अनुसार नेपालका र्‍याफ्टिङ गर्न मिल्ने १६ नदीहरूमध्ये यो नदी निकै अप्ठ्यारो छ। नेपालमा रहेका करिब ६ हजार नदी नालामध्ये तमोर, कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण लगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ।

सम्बन्धित समाचार