मोरङ । मापसे (मादक पदार्थ सेवन) गरेर ड्युटी गरिरहेको अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक(असई)माथि कारबाही प्रक्रिया अघि बढेको छ ।विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत असई ताराबहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो ।ड्युटीमा आफै मादक पदार्थ सेवन गरेर सवारी साधनका चालकको मापसे चेक गरिरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर उनीमाथि कारबाही अघि बढाउन अनुसन्धान थालिएको छ ।
विराटनगर महानगरपालिका–४ खारजीमा बिहीबार राति मापसे चेकमा खटिएका असई बस्नेतलाई नियन्त्रणमा लिन मोरङका डीएसपी राजकुमार खिँउजुको टोली पुगेको थियो ।कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे सेवन गरेको पुष्टि भएको छ । डीएसपी खिँउजुले जिल्ला तानिएका बस्नेतमाथि आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइने बताउनुभयो ।खिँउजु आफै घटनास्थलमा पुग्दा प्रहरीको पोशाक लगाएर ड्युटीमा खटिए पनि रक्सीको नसामा लट्ठ रहेका बस्नेत सडकमा गुड्ने सवारी साधनका चालकले मापसे गरे–नगरेको बारेमा चेकचाहिँ गरिरहेका थिए ।
मापसे चेकका क्रममा सवारी चालकसँग विवाद गरेपछि जिल्ला प्रहरी कार्यालयमा सवारी चालकहरुले ड्युटीमा रहेका असईले मापसे गरेको जानकारी गराएका थिए । त्यसपछि घटना बाहिरिएको हो ।
प्रतिक्रिया