खाँदबारी अस्पतालको सामाजिक परिक्षण सम्पन्न




खाँदबारी । जिल्ला अस्पताल खाँदबारीको आर्थिक बर्ष २०७५/७६ को सामाजिक परिक्षण सम्पन्न भएको छ । उक्त सामाजिक परिक्षण जिल्ला अस्पताल खाँदबारीमा एक कार्यक्रमको आयोजना गरि आज सार्वजनिक गरिएको छ ।

वान हार्ट कार्यक्रमको सहयोग र समाज विकास केन्द्र (सोडेक) को सहजीकरणमा जिल्ला स्वास्थ्य कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधीहरु, नागरिक समाज र सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा समाज विकास केन्द्रका कार्यक्रम संयोजक कमानसिं कुलुङले खाँदबारी अस्पतालको अवस्था, त्यहाँबाट प्राप्त हुने सेवा सुविधा, समस्या, चुनौती, सेवाग्राहीहरुको प्रतिकृया लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमा पछिल्लो समय अस्पताल सुधार उन्मुख रहेपनि अझै धेरै विषयमा सुधार आउन बाँकी रहेको जानकारी दिईएको थियो । प्रतिवेदनमा अस्पतालबाट प्राप्त हुने औषधीहरु, प्रसुति सेवा लिनेहरुको अवस्था, आमदामी तथा खर्चहरुको बिवरण लगायतका विषयबस्तुहरु प्रस्तुत गरिएको थियो ।

केही स्वास्थ्यकर्मीहरुको रुखो ब्यावहार भएको, सौचालय फोहोर भएको, नियमित पानीको ब्यवस्था नभएको लगायतका समस्याहरुको पहिचान गर्दै आगामी दिनमा उक्त समस्याहरुको समाधान गर्नु पर्ने सुझाव दिईएको थियो । कार्यक्रममा सहभागीहरुले पनि अस्पतालको सुधारात्मक पक्षहरुको चर्चा गरेका थिए । अस्पतालमा नियमित एम्बुलेन्सको ब्यवस्था हुनु पर्ने स्वास्थ्यकर्मीहरु जिम्मेवार बन्नु पर्ने, स्वास्थ्कर्मीहरुको जनशक्ति बढाउने पर्ने जस्ता सुझाव सहभागीहरुले दिएका छन् ।

सहभागीहरुले राखेको प्रश्न र जिज्ञासाको बारेमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र निमित्त मे.सु. शुन्दर श्याम झाले स्पष्ट पार्नुभएको थियो । मुख्यगरि जनशक्ति अभावकै कारण अस्पतालले विभिन्न समस्याहरु झेल्नु परेको झाले स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै अस्पताल ब्यवस्थापन समिति अध्यक्ष शाक्यले अस्पताल क्रमस सुधारमा ल्याउने काम भईरहेको बताउनुभयो । यहाँका सवै एक मत भएर नमुना अस्पताल बनाउनु पर्ने उहाँले धारणा राख्नुभयो ।

सम्बन्धित समाचार