सिलिचोङ पहिरो पिडित र सरोकारवाला विच अन्तरकृया




सिसुवाखोला । गत असार २७ गते सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा गएको पहिरो पिडित र सरोकारवालाहरु विच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सिलिचोङ समन्वय समितिको आयोजनामा सिलिचोङ गाउँपालिकाको बुधबारेमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरकृया कार्यक्रममा करिव ५० जना पहिरो पिडितहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ, राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु र सिलिचोङ गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीयले पहिरोले विस्थापित बनाएकाहरुले चासो र गुनासो राखेका थिए । विस्थापित भएकाहरु मध्ये चित्रे गाउँमा राखिएका र चेप्चेवा गाउँका विस्थापितहरुले ओत लाग्ने पाल समेत नपाएको गुनासो गरेका छन् । चित्रे गाउँमा खानेपानीको पनि चरम समस्या रहेको स्थानीयले गुनासो गरेका छन् ।

पहिरो पिडतहरुको गुनासोको सुनुवाई गर्नुहुँदै गाउँपालिका अध्यक्ष रामबहाहदुर कुलुङले सम्भव भएसम्म सवै समस्याहरुको समाधान गर्न आफुहरु लागिपरेको बताउनुभयो । विस्थापितहरुको ब्यवस्थापनमा २४ सै घण्टा जस्तो आफुहरु खटिरहेको बताउनुहुँदै चित्रको खानेपानी समस्या समाधान गर्नकै लागि पाईप, हिलट्यांक लगायतका सामानहरु खरिद भएर ल्याउने क्रममा रहेको जानकारी दिनुभयो । सवै समस्याको समाधान गर्न गाउँपालिका मात्र पर्याप्त नभएकोले प्रदेश सरकार र संघिय सरकारसँग पनि पहल भईरहेको जानकारी दिनुभयो । विपद ब्यवस्थापनको लागि पिडितहरुले चाहे जस्तो सहज नभएकोले कत्तिपय कुराहरु समझदारीमा रहनु पर्ने समेत बताउनुभयो ।

अन्तरकृया कार्यक्रममा नेपाली कांग्रेसका सिलिचोङ सभापति भुपालराज मेवाहाङ, जिल्ला सदस्य सन्तोष कुलुङ, नेकपा सिलिचोङ अध्यक्ष हस्तमान कुलुङ र जनता समाजवादी पार्टीका तुलाबहादुर कुलुङ लगायतले राहत ब्यवस्थापनका विषयमा आफ्ना धारणा राखेका थिए । राहत र विपद ब्यवस्थापनमा कोहि कसैले राजनितिक स्वार्थ राख्न नहुने समेत पार्टी प्रतिनिधीहरुले विचार राखेका थिए ।

यसै विच, सिलिचोङ समन्वय समितिले सिसुवाखोला पहिरो विस्थापितहरुका लागि संकलन गरेको राहत रकमको बिवरण गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई हस्तान्तरण गरिएको छ । समितिले विभिन्न दाताहरुबाट १९ लाख ४२ हजार १ सय ५६ रुपैयाँ संकलन गरेको जानकारी गराउदै बिवरण हस्तान्तरण गरेको हो । रकम भने कुन क्षेत्रमा लगानी गर्ने भन्ने यकिन भएपछि हस्तान्तरण गर्ने समन्वय समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार