नेकपा (एमाले) संखुवासभाको लेटर प्याड र छाप दुरुपयोग गरेको भन्दै विज्ञप्ती जारी


१८ भाद्र २०७८, शुक्रबार


संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाको लेटर प्याड र छाप दुरुपयोग गरेको भन्दै विज्ञप्ती जारी गरिएको छ । भदौ १९ गते जिल्ला कमिटीको बैठक भनी सामाजिक सञ्जालबाट जारी गरिएको सूचना प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी संखुवासभाले ध्यानाकर्षण गर्दै शुक्रबार विज्ञप्ती जारी गरेको हो ।

विज्ञप्तीमा भनीएको छ, पार्टी विभाजन र विखण्डन गर्न आम पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई भ्रम सिर्जना गर्ने मनसायले गरिएको उक्त सुचना बमोजिम सो भेलामा उपस्थित नहुन अनुरोध गरिन्छ । सचिव नारायण कटुवाल र अध्यक्ष जीत बहादुर घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत कथित भेलाको भ्रम र उक्साहटमा नपरी नेकपा एमालेलाई एकताबद्ध र अक्षुण राख्नका लागि सम्पूर्ण पार्टी कमिटीका नेता तथा कार्यकर्ताहरुलाई अपिल समेत गरिएको छ ।

बिहिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी संखुवासभाको लेटरप्याडद्धारा अध्यक्ष हेमराज घिमिरेको हस्ताक्षरमा बैठकमा उपस्थितिका लागि लेखिएको चिठी सामाजिक सञ्जालमा आएको थियो । अध्यक्ष घिमिरेले १९ गते खाँदबारी नगरपालिकाको सभाहलमा दिनको ११ बजे जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरुलाई सोही सूचनाको आधारमा उपस्थितिका लागि अनुरोध गरेको थियो ।

 

सम्बन्धित समाचार