संखुवासभा । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि धर्मदेवी नगरपालिका र चिचिला गाउँपालिका बन्द गरिएको छ । चिचिला गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुधबारबाट बन्द गरिएको चिचिलाका अध्यक्ष पासाङ नुर्बु शेपाले जानकारी दिए ।
अर्को सूचना नआउँदासम्म सम्पूर्ण सेवा बन्द गरिएको हो । संक्रमितको अवस्था सामान्य रहेको गाउँपालिकाले जानकारी दिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका अन्यको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने अध्यक्ष शेर्पा बताएका छन् । धर्मदेवी नगरपालिकाका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि सबै सेवा बन्द गरिएको छ । नगरपालिका र मुडे बजार लगायत कार्यालयहरु बन्द गरिएको धर्मदेवी नगरपालिकाकी उपप्रमुख शोभा घिमिरेले बताइन् ।
त्यस्तै, जिल्ला अस्पतालका कर्मचारीमा समेत कोरोना देखिएपछि आइतबार बाट आकस्मिक र प्रसूती बाहेका सबै सेवा बन्द छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि ट्रेसिङमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकाले अत्यावश्यक नपरेसम्म अस्पिताल नआउन आग्रह गरिएको छ । कोरोना संक्रमण बढेसँगै खाँदबारी लगायत अन्य ९ नगर र गाउँपालिका क्षेत्रका विद्यालय कक्षाहरू समेत बन्द भएका छन् ।
बैकल्पिक सिकाई सहजीकरण निर्देशिका अनुसार केही विद्यालयहरूले टोलटोलमा गएर र अधिकांश विद्यालयमा नै विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न थालेका थिए । हालसम्म संखुवासभमा १ सय जना कोरोना संक्रमित फेला परेका छन् ।
प्रतिक्रिया