भोजपुर l भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक कोभिड– १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सहितको पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो ।
पौवादुङ्मा गाउँपालिकाले कोभिडका विरामीलाई उपचार गर्नका लागि आवश्यक सुविधा सहितको अस्थायी अस्पताल निर्माण गरेको हो । जिल्लाका नौ ओटा स्थानीय तह मध्ये यो गाउँपालिकाले पहिलो पटक अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयबासी हर्षित भएका छन् ।
उनीहरु अब भने स्थानीयस्तरमा स्वास्थ्य सुविधा पाउने ढुक्क भएका छन् । स्थानीयबासी विष्णु भट्टराईले भने ‘हाम्रो स्थानीय सरकारले कोरोनाको उपचारका लागि छुटै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ, अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ।’ केन्द्र सरकारको निर्देशन अनुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । केन्द्रबाट आएको १० लाख रकम अभाव भएमा गाउँपालिकाले समेत लगानी गरेर स्थानीयलाई थप सेवा विस्तार गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
अध्यक्ष राईले भने ‘कोभिड–१९लाई लक्षित गरेर हामीले अस्थायी अस्पताल निर्माण गर्न सफल भएका छौँ, हाम्रा स्थानीय जनताको अन्य आवश्यक सेवा सुविधा विस्तारका लागि स्वाथ्य, शिक्षा, यातयात खानेपानी लगाएतको क्षेत्रमा समेत काम गरिरहेका छौँ, यसले जनतालाई प्रत्यक्ष लाभ पुग्नेछ ।’
प्रतिक्रिया