खाँदबारीका फुल कृषक सविता भन्नुहुन्छ, विक्रि नहोलाकी भन्ने चिन्ता छैन



खाँदबारी । खाँदबारी नगरपालिका ११ हेलुवाका सबिता कुलुङ लोहोरुङ खाँदबारी १ को बजार नजिकै जग्गा भाडामा लिएर ब्यावसायीक फुल खेती सुरु गर्नुभएको यो दोश्रो बर्ष हो । गत बर्षभन्दा यो बर्ष तेब्बर क्षेत्रफलमा मखमली र सयपत्री फुलको खेती लगाउनुभएको छ ।

गत बर्ष भन्दा यो बर्ष फुलको खेती बढाएपनि माग्नेहरुलाई पुराउन नसकिएलाकी भन्ने चिन्ता सवितासँग छ । तिहार आउन अझै एक हप्ता भन्दा बढि समय बाँकी हुँदा नै २१ जनाले फुलको अर्डर गरिसकेको राईले बताउनुभयो । यस बर्ष पहिले जस्तो बजार नलाग्ने भएकोले बगैचामा नै आएर फुल माग्नेहरुको संख्या अत्याधिक रहेको सविताको भनाई छ । यस बर्ष करिव ५ रोपनी क्षेत्रफलमा लगाएको मखमली र सयपत्री फुल बगैचाबाट नै विक्रि भईसक्न लागेको उहाँले बताउनुभयो । बार्षिक ४० हजार रुपैयाँमा १२ रोपनी जग्गा भाडामा लिनुभएको हो । त्यस मध्येको ५ रोपनी क्षेत्रफलमा फुलको बिरुवा लगाउनुभएको हो ।

उहाँले गत बर्ष फुलको डाँठ सहितको मुठा बनाएर सय रुपैयाँको दरले खाँदबारी बजारमा विक्रि गर्नुभएको थियो । लगभग एक बोटले एक मुठा बनाएको मखमली फुलबाट गत बर्ष ५० हजार रुपैयाँ भन्दा बढी आमदामी गरेको सविताका श्रीमान भोला लोहोरुङले जानकारी दिनुभयो । यस बर्ष झण्डै तेब्बर क्षेत्रफल बढाएर खेती लगाएकोेले आमदामी पनि बढ्ने लोहोरुङले विश्वास ब्यक्त गर्नुभयो । ‘पोहोर पहिलो पटक बिरुवा लगाउँदा विक्रि हुँदैनकी भन्ने थियो तर राम्रो दाम पाएकोले यो बर्ष बढाएका हौं’, लोहोरुङले भन्नुभयो । यस बर्ष पनि फुलको माग राम्रो भएकोले अर्को बर्ष अझ ब्यवस्थीत तरिकाले खेती लगाउने उहाँले बताउनुभयो ।

खाँदबारी बजारमा सयपत्री भन्दा मखमली फुलको माग धेरै रहेको उहाँको भनाई छ । स्थानीय जातको मात्र सयपत्री फुलको बिरुवा लगाएकोले उत्ति राम्रो उत्पादन समेत नभएको उहाँले अनुभव सुनाउनुभयो । अर्को बर्ष भने सयपत्री फुलको उन्नत जातको बिरुवा खोजेर रोप्ने योजना बनाएको लोहोरुङले बताउनुभयो । रोपेको करिव २ महिनामा नै फुल फुल्ने हुँदा छाटो समयमा नै आमदामी लिन सकिने भएकोले यो खेती लाभदायी रहेको समेत उहाँको भनाई छ ।

सङ्खुवासभामा ठुलो परिमाणमा पुष्प खेती गरिदैन । अधिकांशले कोठेबारीमा रोपेको फुल नै प्रयोग गर्ने गर्छन् । हावापानीको प्रभाव तथा अन्य कारणले फुलको उत्पादन कम हुँदा बजार क्षेत्रमा फुलको अभाव हुँदै आएको छ ।

गोरखापत्र दैनिकबाट साभार ।

सम्बन्धित समाचार