दोलखामा पहिलो पटक खुल्यो दुई तारे होटल



पूर्वी पहाडी जिल्ला दोलखामा पहिलो पटक दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको छ । दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको हो ।

शनिबारदेखि सञ्चालनमा आएको होटलको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले एक समारोहबीच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले कोरोना महामारीको असरका कारण मुलुकको पर्यटन व्यवसायसँगै अधिकांस उद्योगी व्यवसायीहरु थलिएको भन्दै राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । उपाध्यक्ष ढकालले दोलखालाई पर्यटकीय गन्तव्य बनाउन निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाएका छन्।

होटल एम्ब्रोसिया सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा रहेको अदिती कम्प्लेक्सको छैठौं, सातौं र आठौं तल्लामा छ। होटल सञ्चालक दिनेश बस्नेतका अनुसार एम्ब्रोसियामा डिलक्स र स्वीट गरी ३५ वटा रुम छ। अण्डरग्राउण्ड पार्किङदेखि स्टार होटलमा हुने सबै किसिमका सेवा सुविधा रहेको सञ्चालक बस्नेत बताउँछन्।

होटल एम्ब्रोसियालाइ पर्यटन बोडले दुई तारे होटल सञ्चालन अनुमति दिईसकेको जनाईएको छ। भवन बाहेक होटल निर्माण गर्दा झण्डै १५ करोड लगानी भएको सञ्चालक बस्नेतको भनाइ छ । होटल उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु, दोलखाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार