दाङको तुलसीपुरमा पार्किङ गरिराखेको एउटा बसमा अपरिचित समूहले आगजनी गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ रानीघाट खोलानजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार बिहान १ बजेतिर आगजनी भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रहरीलाई सवा १ बजे खबर आएपछि आफू पनि मध्यरातमा घटनास्थल पुगेको र बसमा लागेको आगो निभाएको सेतोपाटीलाई बताए।
‘मेरो कमाण्डमा खटिएको दश जनाको प्रहरी टोलीले बिहान दुई बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भयौं,’ अर्यालले भने ‘आगजनीबाट झन्डै ७५/८० प्रतिशत जति बस जलेको छ।’
डिएसपी अर्यालका अनुसार उक्त बस तुलसीपुर(घोराही सडक खण्डमा सञ्चालन हुँदै आएको थियो।
‘चार दिन पहिलेमात्रै त्यो बस यात्रु लिएर घोराहीबाट तुलसीपुर आउँदै गर्दा कालाखोलाको उकालोमा ब्याक भएको रहेछ,’ उनले भने, ‘त्यसपछि बसलाई नजिकै सडक छेउमै पार्किङ गरेर राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।’
गाडी धनी र चालकलाई आफूले कार्यालयमा बोलाएको डिएसपी अर्यालले बताए।
‘मैले गाडी धनी र चालकलाई बोलाएको छु,’ उनले भने ‘उहाँहरूका कुरा हामी सुन्छौं र त्यसपछि निचोड निकाल्न सहज हुनेछ।’
प्रतिक्रिया