काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घयूएन ले पछिल्ला केही हप्तायता अफगानिस्तानमा चलिरहेको हिंसाका कारण त्यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ ।
संयुक्त राष्ट्र सङ्घले भर्खर मात्रै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको जनाएको छ ।
अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन सुरु भएसँगै तालिबानीले त्यहाँका विभिन्न सहर नियन्त्रणमा लिन थालेको समाचार बाहिर आइरहेका छन् । यही कारण त्यहाँ दिन प्रतिदिन हिंसा भइरहेको छ । त्यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकाले उनीहरू भाग्न बाध्य भएका छन् ।
यो वर्षमात्र हिंसामा परेर झन्डै चार लाख नागरिक विस्थापित भइ उनीहरू देशभित्रै आन्तरिक शरणार्थीका रूपमा बस्न बाध्य भएका छन् ।
अहिले त्यहाँका विस्थापित नागरिकहरू आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् ।
त्यहाँ कतिपय सहायता एजेन्सीले उनीहरूलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो सङ्ख्यामा विस्थापित भएर विभिन्न सहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।
अहिले अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि त्यहाँको सरकारी सेना र तालिबानबीचमा सङ्घर्ष चलिरहेको छ । जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् ।
प्रतिक्रिया