कोसी करिडोरको पहिलो खण्ड सम्पन्न



कोसी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २ सय २० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

३ सय २६ वटा टावर रहेको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण हुने करिब २ हजार मेगावाट जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लाइनलाई मंगलबारबाट ३३ केभीमा सञ्चालन (चार्ज) गरिनेछ ।

‘इनरुवामा २ सय २० केभीको सबस्टेसनको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिनेछ,’ कार्यकारी निर्देशक घिसिङले भने । यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले व्यहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान हुनेछ ।

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोसी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइनेछ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरू बर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरूको जडित क्षमता करिब ३३ मेगावाट छ ।

सम्बन्धित समाचार