बिचौलिया बनेर बिरामीलाई ठग्ने १० जना विराटनगरबाट पक्राउ



विराटनगर । बिचौलिया बनेर बिरामी ठग्ने १० जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । बिचौलियाको भूमिकामा रहेर ठूला अस्पतालमा उपचारका जाने बिरामीलाई निजी क्लिनिक र फार्मेसी (औषधि पसल)तिर लैजानेहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगरको नोबेल शिक्षण छेउछाउबाट सात र कोसी अस्पतालनजिकबाट तीन जनालाई मंगलबार राति पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगरको नोबेल शिक्षण अस्पतालनजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का १९ वर्षीय सुजित यादव र विराटनगर–५ का २१ वर्षीय समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर–५ का २२ वर्षीय फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर–५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का १८ वर्षीय अमित यादव छन् ।

त्यस्तै कोसी अस्पतालनजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी–६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी–३ का ४२ वर्षीय मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा–२ का २० वर्षीय सूर्यनारायण यादवलाई पक्राउ गरिएको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार बिरामी भएर अस्पताल पुगेकाहरुलाई उपचारका लागि जान नदिइकन निजी क्लिनिक र फार्मेसीतिर लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसका अनुसार कमिसनको लोभमा अस्पताल छिर्नै नदिइकन बिचौलियाले बिरामीलाई बीचैमा कब्जा गरेर फार्मेसी एवं निजी क्लिनिकतिर लैजाने गरेको पाइएको छ । कमिसन पाउने भएकाले बिचौलियाले आफ्नो सम्पर्कमा भएका क्लिनिकमा लगेर उपचार गराउन लगाउने तथा फार्मेसीमा महँगो मूल्य तिराएर औषधि किनाउने गरेको उनले बताए ।

विराटनगरका ठूला अस्पताल छेउछाउमा यस्ता विकृति धेरै रहेको बताउँदै जिसीले सर्वसाधारणको जीउज्यानमाथि खेलवाड गर्नेहरुलाई कानुनको दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार बिचौलियाले कोरोना महामारीको त्रास देखाउँदै र अस्पतालमा राम्रो उपचार नहुने भन्दै झुक्याएर बिरामीलाई आफू अनुकूलको क्लिनिक र फार्मेसीतिर लग्ने गरेको पाइयो ।

ठगिएकाहरुलाई प्रहरीको सम्पर्कमा आउन र बिचौलियालाई कारबाहीको दायरामा ल्याउनलाई सहयोग गर्न एसपी जिसीले सबैमा आग्रह गरेका छन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले एक साताअघि पनि विराटनगरबाट दुई जना बिचौलियालाई पनि पक्राउ गरेको थियो ।

न्युरो अस्पतालअगाडिको ज्ञानु फार्मेसीमा काम गर्दै आएका विराटनगर–८ का १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्दकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले उपचारका लागि ठूला अस्पताल आएका बिरामीलाई आफ्नो फार्मेसीतिर लगेर औषधि किन्न दबाबा दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार