विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज ९बिहीबार० राजीनामा दिएर नयाँ मुख्यमन्त्रीका लागि एमाले सचिव भीम आचार्यलाई बाटो खुला गरिदिने भएका छन् ।
एमाले विभाजनले आधिकारिकता पाएलगत्तै प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने अवसर पाएका राईले पदबाट राजीनामा दिने भएका हुन् । पार्टी विभाजनकै कारण पूरा कार्यकाल काम गर्न नपाइकन लगभग साढे तीन वर्षमै राईले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था बनेको हो । संसदीय दलको नेता परिवर्तनकै लागि राईले बिहान एमाले संसदीय दलको बैठक बोलाएका छन् ।
मुख्यमन्त्री बन्न संसदीय दलको नेता चयन हुनुपर्छ । राईले राजीनामा दिएर दलको नेताका लागि आचार्यलाई प्रस्ताव गर्ने स्रोतले बतायो । दलको नेता चयन भइसकेपछि आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिने भएको छ । त्यसअघि नै राईले प्रदेश प्रमुख समक्ष आफ्नो राजीनामा बुझाउने छन् । परिस्थिति मिलेको खण्डमा सम्भवत आजै आचार्यले मुख्यमन्त्रीको शपथ लिने एमालेका एक सांसदले बताए ।
स्रोतका अनुसार बैठकले एमालेबाट अलग भएका माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा ९एकीकृत समाजवादी०तिर लागेका सांसदलाई कारबाही गर्न सक्ने सम्भावना छ ।
पार्टी विभाजन र समसामयिक विषयमा छलफल गर्न बोलाइएको एमाले संसदीय दलको बैठकबाटै दलको नेता चयन हुने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता हिक्मतकुमार कार्कीले बताए । कार्की प्रदेश सरकारका प्रवक्ता पनि हुन् । एमालेमा बहुमत सांसद रहेकाले नयाँ सरकार गठनको सम्भावना पनि रहेको उनको भनाइ छ ।
बैठकमा नेपाल नेतृत्वको समाजवादीका सांसदलाई पनि बोलाइएको स्रोतले बतायो । अहिलेसम्म राजेन्द्र राई, गणेश काम्बाङ र राजन राईबाहेक समाजवादीमा अरु सांसद खुलिसकेका छैनन् । राजेन्द्रले आफूलाई बैठकमा नबोलाइएको र यस्तो बेला बैठक बोलाउनु नै गलत भएको बताए । सांसदलाई आफ्नो पक्षमा तान्नलाई हतारहतार बैठक बोलाइएको उनको आरोप छ ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना सांसद छन् । मुख्यमन्त्री बन्नका लागि ४७ मत आवश्यक पर्छ । नेपाल नेतृत्वको समाजवादीले आफ्नो पक्षमा १५ सांसद रहेको दाबी गरिरहेको छ । प्रदेश १ मा एमालेका कम्तीमा ८ सांसदले समाजवादी रोजेमा एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहँदैन ।
काठमाडौंमा रहेका मुख्यमन्त्री राई, एमाले सचिव आचार्य र केन्द्रीय सदस्य जीवन घिमिरे लगायतका नेताहरु दलको बैठकमा भाग लिन बिहान विराटनगर आउँदैछन् । शेरधन २०७४ फागुन २ गते प्रदेश १ का पहिलो मुख्यमन्त्री बनेका हुन् ।
२०७४ साल माघ २६ गते सम्पन्न एमाले संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा आचार्य राईसँगै दुई मतले पराजित भएको थिए । दलको नेतामा पराजित भएपछि आचार्यको मुख्यमन्त्री बन्ने सपना सकिएको थियो । राईले २६ र आचार्यले २४ मत पाएका थिए । १ मत बदर भएको थियो । पार्टी विभाजनसँगै नेपालको साथ छाडेर एमालेमै बसेका आचार्यको मुख्यमन्त्रीको दौड यसपटक सफल हुने देखिएको छ ।
प्रतिक्रिया