संखुवासभाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय लकडाउनका कारण ठप्प भएको छ ।
वर्षेनी ३ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको रुद्राक्ष चिनियाँ व्यापारी नआउँदा ठप्प भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुङ्खेले बताए । लकडाउनको अवधी अघि गाउँ गाउँमा छ्याप्छाप्ती पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन् ।
भएका खेतबारी रुद्राक्ष बोटले भरिएका छन्, तर व्यापार हुने कुनै सम्भावना छैन । उनले भने लाखौं खर्च गरेर कृषकले मलजल र औषधी पनि हालेका छन्, तर व्यापार हुने कुनै लक्षण छैन । यसबाट संखुवासभा र भोजपुरका कृषक डुब्ने अवस्थामा पुगेको अध्यक्ष बिसुङ्खेको भनाइ छ ।
संखुवासभा र भोजपुरमा वर्षेनी अर्बौंको रुद्राक्ष कारोबार हुँदै आएकोमा गतवर्ष पनि लकडाउनले कारोबारमा घाटा खाएपछि यस वर्ष कृषकले रुद्राक्षमा थप लगानी गरेका थिए ।
चिनियाँ व्यापारीले भरिने खाँदबारीका सडक, गाउँघर र होटल पसल पनि यसवर्ष सुनसान देखिन्छन् । रुद्राक्षको व्यापार व्यवसायमा लगानी गर्ने कृषक र ठेकेदार सुस्ताउँदा व्यापार व्यवसायमा समेत मन्दी आएको संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए । विगत वर्षहरुमा साउन लागेसँगै रुद्राक्षको कारोबार सुरु हुन्थ्यो ।
चिनियाँ व्यापारीहरु आउन थालेपछि भारतीय व्यापारीहरु पूर्णरुपमा बिस्थापित बन्दा बजार खुम्चिएको उनको आंकलन छ । चिनियाँ व्यापारी प्रवेश गर्नुअघि भारतीय व्यापारीहरुले भारत हुँदै विश्वबजारमा रुद्राक्ष पु¥याउँथे । उनीहरुले प्राय मुखदार दाना मात्र लैजान्थे । पछि चिनियाँ व्यापारीले बढी मूल्य हाल्न र सबै किसिमका रुद्राक्ष खरिद गर्न थालेपछि उनीहरु बिस्थापित भएका हुन् ।
प्रतिक्रिया