काठमाडौं ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाइतर समूहले महाधिवेशन प्रक्रियामा देखिएका व्यवहारिक कठिनाई समाधानका लागि पहल गर्ने निर्णय गरेको छ । कांग्रेस महाधिवेशन नजिकिएसँगै नेताहरुले आन्तरिक छलफल र भेटघाटलाई तीव्र पारेका हुन्।
प्रकाशमान सिंहको निवासमा चाक्सीबारीमा बसेको बैठकले भदौ १८ गते हुन गइरहेको वडा अधिवेशन ७७ वटै जिल्लामा गर्न माग गर्ने निर्णय गरेका छन्।बैठकपछि कांग्रेस नेता डा.मिनेन्द्र रिजालले महाधिवेशन प्रक्रियामा व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिए । ‘अधिवेशनको प्रक्रियामा अगाडि बढिरहेका छौं, केही व्यवहारिक कठिनाईहरु आएका छन् । व्यवहारिक कठिनाईलाई समाधान गर्नुपर्छ । केही सभापतिहरु क्रियाशील सदस्यताको विषयको कुरा उठाएर धर्नामा बस्नुभएको छ।’ उनले भने ‘कठिनाई समाधान गरेर अधिवेशन सुनिश्चित गर्न पार्टी सभापतिसँग संवाद गर्ने निर्णय भएको छ।’
उनीहरुले सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने निर्णय गरेका छन्। उनले वरिष्ठ नेताले सभापतिसँग समय लिएकाले आज छलफल हुने जनाए। उनले भने, ‘सभापतिहरूले उठाएका मागहरू पनि सम्बोधन गर्नुपर्ने हुन्छ, यसबारे कुरा गर्न वरिष्ठ नेताले सभापतिसँग समय लिनुभएको छ। आजै उहाँहरूबीच भेटेर कुराकानी हुन्छ।’
उनले मतदाता नामावली सार्वजनिक गर्नेपर्ने बताएका छन्। कांग्रेसले क्रियाशिल सदस्यता टुंग्याएको जनाएपनि अहिलेसम्म सदस्यताको सूची सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरुले अनसन जारी राखेका छन्। उक्त मागप्रति देउवा इतरका नेताहरुले ऐक्यवद्धता जनाएका छन्। आजको बैठकमा पौडेल पक्षका नेताहरु तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफलसहित निष्कर्षमा पुग्ने निर्णय गरेका छन्।
छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, डा ।शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा रामशरण महत, डा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित भएको चाक्लिबारी स्रोतले जनाएको छ।
प्रतिक्रिया