बबईले बगाउँदा एक जनाको मृत्यु



दाङ । बबई नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ का ५० वर्षीय वामदेव देवकोटा रहेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान करिब १० बजेतिर नुहाउने क्रममा बगेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।

उनी मलामी गएको बेला नदीले बगाएको बुझिएको छ। उनलाई नदीले करिब ५ सय मिटर तल दंगीशरण–४ बैवाङमा लगेको प्रहरीले जनाएको छ। साथै उनको शवलाई स्थानीयले फेला पारी नदी बाहिर निकालेका थिए।

त्यस्तै गएराति देखि परेको अविरल वर्षाका कारण बंगलाचुली गाउँपालिकामा पहिरो जाँदा ५ घर घरपरिवार बिस्थापित भएका छन्। पहिरो गएसँगै बंगलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार बिस्थापित भएको वडा सदस्य भीमकुमार बुढाले जानकारी दिए।

पहिरोका कारण दिलबहादुर घर्तीको घर भासिएको छ, भने अन्य ४ घर बस्न नमिल्ने चिरा परेको उनले जानकारी दिए। लगातार ३ दिन वर्षा हुने भएकाले सचेतना अपनाउन प्रशासनले आग्रह गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले एक सूचना जारी गरी शुक्रबारदेखि ३ दिनसम्म वर्षा हुने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सूचना जारी गरी नदीमा काठ दाउरा लिन पनि नजान आग्रह गरेका छन्।

सम्बन्धित समाचार