ताम्कु । १८ औं निजामती दिवसको अवसरमा सिलिचोङ गाउँपालिकाले कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरि उत्कृष्ठ ३ कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।
उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, लेखापाल किर्तिराज कार्की र जिन्सी शाखा प्रमुख नरेन्द्र राई रहेका छन् । ताप्लेजुङ स्थायी ठेगाना भएको प्रमुख प्रशासकीय अधिकृत पौडेल २०७५ चैत्रबाट सिलिचोङमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै, लेखापाल कार्की २०७५ असोजबाट लेखापाल पदमा कार्यरत हुनुहुन्छ ।
खानेपानी सब टेक्निसियन पदमा २०७६ बाट सिलिचोङमा स्थायी नियुक्ती लिनुभएको जिन्सि शाखा प्रमुख राई सिलिचोङको स्थानीय नागरिक हुनुहुन्छ । उहाँले जिन्सि शाखासँगै योजनाहरुको लागत स्टिमेट बनाउन जिम्मेवारी समेत बहन गर्दै आउनुभएको छ ।
पुरस्कृत भएका कर्मचारीहरुको कार्य सम्पादन उत्कृष्ठ रहेकोले यस बर्ष सम्मान गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर राईले जानकारी दिनुभयो । कर्मचारीहरुको मेहेनतले सङखुवासभामा नै सबैभन्दा कम बेरुजु (०.१७ प्रतिशत) भएको पालिकाको रुपमा स्थापित हुन सकेको बताउनुभयो । आगामी दिनमा पनि कर्मचारीहरुबाट उत्कृष्ठ कार्य सम्पादन हुने अध्यक्ष राईको दावी थियो ।
निजामति दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधी विच मैत्रीपुर्ण डबल ब्याटमिन्टन प्रतियोगिताको समेत आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा धनकुविर कुलुङ र विश्वराज मेवाहाङको टिम प्रथम, प्रविन कुलुङ र पवन कुलुङको टिम दितिय भएका छन् । त्यस्तै, बुद्धि कुलुङ र सविन बोगटीको टिम तृतिय भएका छन् ।
गाउँ कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भद्रबहादुर कुलुङको अध्यक्षतामा आयोजित कार्यक्रम सामाजिक सेवा तथा क्षमता विकास समिति संयोजक विनोद किरातीको संयोजकत्वमा सम्पन्न गरिएको हो । कार्यक्रम शिक्षा शाखा प्रमुख बुद्धि कुलुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पालिकका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया