मादी हत्याका आरोपितलाई चैनपुर ल्याइयो



संखुवासभा । सोमबार बिहान ६ जनाको सामुहिक हत्या गरिएको संखुवासभाको मादि हत्या काण्डका आरोपितलाई इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको छ । हत्याका आरोपित लोक बहादुर कार्कीलाई प्रहरीले चैनपुर ल्याएको हो । प्रहरीको लामो अनुसन्धानपछी हत्यामा संलग्न रहेको खुलेपछी प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो ।

हत्याको विषयमा भोली (आईतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए ।

घटना पछि अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदीको टोलीले अनुसन्धान गर्दै आएको थियो ।

भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका १ खोला गाउँका कार्की परिवारको ६ जनाको हत्या भएको थियो । घरमा रहेका ७ जना मध्ये ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । घटनामा बौद्धमानका छोरा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ८० वर्षीया पार्वती कार्की, बुहारी ५६ वर्षीया मनमाया (कमला) कार्की, नातिनी बुहारी २८ वर्षीया रञ्जना कार्की, पनाती १० वर्षीय दिपेन कार्की र पनातीनी ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।

सम्बन्धित समाचार