वडाध्यक्षकाे माेटरसाईकलमा अज्ञात समुहद्वारा अागजनी



संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका वाड नम्बर ५ का वडाअध्यक्ष जापान गुरुङको मोटरसाइकल अज्ञात समूहले जलाइदिएका छन ।

गएराति वडाअध्यक्ष गुरुङको खाँदबारी नगरपालिका–३, मानेभञ्जाङ्गमा रहेको आफ्नै घर अगाडि राखिरहेको मोटरसाइकलमा आगो लगाएर जलाइएको हो । गएराति करिब आठ बजेको समयमा नचिनेका मानिसको समूहले मोटरसाइकल जलाएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बेलुकी खाना खाइसकेर टीभी हेरिरहेको थिए । त्यतिबेला बाहिर ठूलो आवाज आयो, निस्केर हेर्दा मोटरसाइकलमा आगो लागिरहेको रहेछ । हत्तपत्त छरछिमेकी र साथीभाई बोलाएँ । प्रहरीलाई समेत खबर गरेँ ।’

मोटरसाइकल भर्खरै वडा कार्यालयको नाममा खरिद गरिएको हो । मोटरसाइकल पास गर्न समेत बाँकी रहेको वडाअध्यक्ष गुरुङले जानकारी दिनुभयो । मोटरसाइकलमा आगलागी भएको बारेमा अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले बताउनुभयो ।

सम्बन्धित समाचार