चिचिलाः रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकलाई रोजगार



खाँदबारी । कोरोना भाईरसको संक्रमणका कारण पर्यटन क्षेत्र ठप्प भएपछि रोजगारी गुमाएका मजदुरहरुलाई रोजगारी दिईएको छ । चिचिला गाउँपालिका र जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन परियोजनाको साझेदारीमा चिचिला गाउँपालिकाका एक सय पाँच मजदुरहरुलाई रोजगारी दिईएको हो ।

उक्त कार्यक्रमको लागि चिचिला गाउँपालिकाको १० र परियोजनाको तर्फबाट १० लाख गरि २० लाख रुपैयाँको साझेदारी रहेको छ । ५० प्रतिशत साझेदारीका लागि गाउँपालिकाले गत नवौं अधिवेशनबाट बजेट विनियोजन गरेको थियो भने परियोजनाको तर्फबाट नेपाल पर्यटन बोेर्ड र युएनडिपीले सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

मुख्य गरि पर्यटकहरुको सामान ढुवानीको क्षेत्रमा काम गर्ने श्रमिकहरु घर फर्केर बसेकाहरुलाई रोजगारीको लागि छनौट गरिएको गाउँपालिका अध्यक्ष पासाङ् नुर्वु शेर्पाले जानकारी दिनुभयो । कार्यविधी अनुसार छनौटमा परेका श्रमिकहरुलाई पर्यटन क्षेत्र पुर्वाधार विकासको काममा लगाईएको शेर्पाले बताउनुभयो । श्रमिकहरुलाई गाउँपालिकाको महत्वकांक्षी योजनाको रुपम निर्माणधिन मकालु हिरक पार्क क्षेत्रका जंगल भित्र पदमार्ग र फलैचा निर्माण तथा रुखहरुको बोटमा रंग रोगनको काममा लगाईएको अध्यक्ष शेर्पाको भनाई छ ।

त्यस जंगल क्षेत्रमा ६ फुट चौडाई भएको ६ सय २० मिटर लामो ढुङ्गाको सोलिङ निर्माण गरिने उक्त योजनामा काम गरिरहनुभएका प्राविधिक तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । पैदल मार्गको उकालो भागमा एक हजार पाँच सय सिढि निर्माण गरिने शेर्पाको भनाई छ । दशैं अगावै सकिने उक्त योजना अन्तर्गत १६ वटा फलैंचा निर्माण गर्ने र चार सय २३ बोट रुखहरुलाई रंग रोगन गरिने शेर्पाले जानकारी दिनुभयो । उक्त सम्पुर्ण कार्यहरु मकालु हिरक पार्कको गुरुयोजना भित्रको कार्यहरु रहेको शेर्पाले जानकारी दिनुभयो । मकालु हिरक पार्कको शिलान्यास मकालु हिरक महोत्सव कार्यक्रमको क्रममा ६ बर्ष अघि राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

यस योजना अन्र्तगतका श्रमिकहरुले अन्यको तुलनामा बढी नै पारिश्रमिक पाउने छन् । जिल्ला दररेट अनुसार सामान्य कामदारले दैनिक ६ सय ६० रुपैयाँ पाउछन् भने यस आयोजनाका श्रमिकहरुले दैनिक हजार रुपैयाँ पाउने छन् । ३५ महिला र ७० जना श्रमिक रहेकोमा सवैले बराबरी पारिश्रमिक पाउने प्राविधिक शेर्पाले बताउनुभयो । हालसम्मकै सवैभन्दा धेरै दरमा समान पारिश्रमिक पाउने गरि रोजगारी पाउँदा श्रमिकहरु खुसी छन् । यस्तो अवसर लामो समयको लागि गाउँपालिकाबाट पाउनु पर्ने उनीहरुको माग छ । यस परियोजना अन्तर्गत यस पटक १५ दिन मात्र श्रमिकहरुले काम पाउने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार