उर्जा मन्त्री भुसालले गरे अरुण तेश्रोको अनुगमन



खाँदबारी । जलश्रोत तथा उर्जा मन्त्री पम्फा भुसालले अरुण तेश्रोको स्थलगत अनुगमन गरेका छन् । मन्त्रीको टोलीले आज (बुधबार) हेलीकप्टरबाट अरुण तेश्रो जलविद्युत परियोजनाको अनुगमन गरेका हुन् ।

मन्त्री भुसालले अरुण तेस्रो आयोजनाको बाँध निर्माण क्षेत्र र त्यस क्षेत्रको सुरुङ को अनुगमन गरेका छन् । मन्त्री भुसालको टोलीलाई विद्युत विकास कम्पनी सतलज जलविद्युत निगमका सीईओ अरुण धिमानले हालसम्मको प्रगतिको बारेमा जानकारी गराएका छन् । धिमानले कोरोना महामारीमा पनि कामको गति नघटेको जानकारी दिए । विकट क्षेत्र, सडकको असुविधा भएपनि हालसम्म ४० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको जानकारी गराए ।

सतलजका सिईओ धिमानको ब्रिफिङ पछि अरुण तेश्रोको कामबाट आफुहरु सन्तुष्ट रहेको प्रतिकृया दिए । तोकिएको समय भित्र काम सम्पन्न गर्न सरकारको तर्फबाट सहयोग गर्ने समेत मन्त्री भुसालले प्रतिकृया दिए ।

मन्त्री भुसालको टोलीले नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत आयोजनाको समेत अनुगमन गरेका छन् । टोलीले माथिल्लो अरुणको बाँध निर्माण क्षेत्र र विद्युत गृह निर्माण क्षेत्रको अनुगमन गरेका हुन् । त्यस्तै, २ सय २० केभीको कोशी करिडोर प्रसारण लाइनको पनि स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री भुसालको टोलीमा ऊर्जा सचिव देवेन्द्र कार्की, अर्थ सचिव मधु मरासिनी, नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङ लगायतका सरकारी अधिकारीको पनि उपस्थिती थियो । तीनवटै आयोजनाको स्थलगत अनुगमनपछि मन्त्रीको टोली बुधबार नै राजधानी फर्किएका छन् ।

 

सम्बन्धित समाचार