मोरङको एउटा मिलमा आगलागी हुँदा ७० लाख बराबरको क्षति



धान, चिउरा र पिठो पिसाउने गरिएको मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा शनिबार राति आगलागी भएको छ ।

आगलागीमा परेर अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ । मिल सञ्चालन गरिएको ४ कोठे भवनमा राति ९ः५० बजेतिर अचानक आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११ः३० बजेतिर मात्रै आगो नियन्त्रणमा लिन सकियो ।

आगलागीको कारण खुल्न सकिरहेको छैन । विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनामा मानवीय क्षति भने भएन ।

आगलागीमा ७० लाख रूपैयाँ बराबरको क्षति भाएको डिएसपी श्रेष्ठले बताए । आगलागीमा परेर मिल सञ्चालन गरिएको दुईवटा कोठा, दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार