सबै जिल्लामा एकै समयमा सुरु हुनुपर्ने नेपाली काँग्रेसको १४ महाधिवेशनको प्रकृया १३ जिल्लामा अझै सुरु हुन सकेको छैन । यद्यपि पार्टीभित्रका विवाद विस्तारै किनारा लाग्दै गएकाले चाडै महाधिवेशनको प्रक्रिया सुरु हुने कुरामा आशावादी बन्न सकिन्छ । ६४ जिल्लामा भने महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । अधिकांश वडा र पालिका तहले नेतृत्व पनि पाइसकेको छ ।
संखुवासभाको चैनपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको । पद भन्दा पार्टी ठूलो हो, पार्टी हितका लागि जुनसुकै त्याग गर्न तयार छु भन्ने नेता कार्यकर्ताको संख्या काँग्रेसमा भेट्न मुस्किल छ ।
यसरी बिरलै भेटिने काँग्रेस कार्यकर्तामध्ये एक हुन् संखुवासभा चैनपुर नगरसभापतिमा सर्वासम्मत चयन भएका शंकरमान कँडेल । उमेरले सात दशक नाघ्यो, कांग्रेस राजनीतिको फेरो समातेकै पाँच दशक पुग्यो । बीपी कोइरालाको समाजवादबाट मात्र नेपाली जनताको मुहार फेर्न सकिन्छ भन्ने चिन्तनले ओतप्रोत भएपछि कँडेलले युवा विद्यार्थी अवस्थामै कांग्रेस राजनीति रोजे । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा उच्च शिक्षा अध्ययनका क्रममा प्रजातन्त्रका निम्ति निकै ठूलो संघर्ष गरे ।
शंकरमान २०१५ सालका सांसद लीलानाथ दाहाल र पिता नरेन्द्रबहादुर कँडेलको प्रेरणाले आफू कांग्रेस राजनीतिमा होमिन पुगेको बताउछन । यतिबेला पुराना कांग्रेसको परिचय बनाएका शंकरमानले कहिले पनि पदप्रति मोह प्रकट गरेनन । पार्टी, समाज र जनताको हितका लागि त्याग गर्नुपर्छ भन्ने सिद्धान्तबाट अभिपे्ररित भएर निरन्तर संगठनमा जुटे । पार्टी दर्विलो बन्नुपर्छ, पार्टी बने मात्र व्यक्ति बन्न सक्छन् भन्ने उनको मान्यता छ ।
संखुवासभामा उनी नेपाल विद्यार्थी संघका संस्थापक सभापति हुन् । ११ औंदेखि १३ औं महाधिवेशनसम्म उनी पार्टीको महाधिवेशन/महासमिति सदस्य रहे । प्रतिबन्धित अवस्थामा उनी जिल्ला पार्टी सचिव थिए । त्यसबेला शिवकुमार गौली पार्टी जिल्ला सभापति थिए । १२ औं महाधिवेशनमा कडेल नेपाली कांग्रेस संखुवासभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिको जिम्मेवारी पाए ।
तत्कालीन चैनपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित शंकरमानले एक पटक सुकुम्बासी समाधान आयोगको जिल्ला अध्यक्ष बन्ने अवसर पाए । स्थानीय तह निर्वाचनमा शंकरमानलाई चैनपुर नगरपालिकामा मेयरको टिकट दिइएको थियो । भलै उनी झिनो मतले पराजित भए तर, उनले लोकप्रिय मत ल्याएका थिए । नगरको ११ वडामध्ये एउटामा मात्र कांग्रेसले जितेको थियो । यस्तो अवस्थामा उनले प्राप्त गरेको लोकप्रिय मतलाई नजरअन्दाज गर्न मिल्दैन ।
गाउँमै बसेर संगठन गर्ने नेताको परिचय बनाएका कडेलको डिस्नेरीमा चाकरी र चाप्लुसी छैन । त्यागी नेता, सरल स्वभाव, मृदुभाषी उनको परिचय हो । पार्टी हितका लागि उदारता देखाउने नेता हुन भन्ने उदाहरण १४ औं महाधिवेशनको पालिका अधिवेशनमा पनि देखियो ।
विद्यार्थीबाट सुरु भएको उनको राजनीतिक यात्रा जिल्ला तहसम्म पुगिसकेको थियो । १४ औं महाधिवेशनमा आएपछि नगर सभापति रोजे । उनी नगर सभापतिमा निर्विरोध भए । ‘मैले त्याग गर्दा पार्टी सुदृढ हुन्छ, संगठन बलियो हुन्छ भने मलाई पद चाहिँदैन’ शंकरमान भन्छन्, ‘संगठन बलियो हुनुपर्छ, पार्टी बलियो भयो भने मात्र कार्यकर्तालाई राजनीति गर्न सजिलो हुन्छ ।’ उनले भने, ‘म बीपीको आदर्शबाट विचलित हुदिनँ, जिम्मेवारी भन्ने कुरा जहाँ बसेर पनि पूरा गर्न सकिन्छ ।’
नगरसभापति भएपछि के गर्नुहुन्छ भन्ने जिज्ञासामा शंकरमानले भने, ‘नगरको संगठन बलियो बनाउँछु, टोल–टोलमा कांग्रेस चिनाउँछु, अन्य राजनीति दलसँग सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा लाग्ने छु ।’ उनले भने ‘नेपाली कांग्रेसको आदर्शबाट विचलित नभइ न्यून आय भएकाहरुको जीवनस्तर माथि उठाउने काम, नगरवासीको शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच अभिवृद्धिका लागि काम गर्नेछु ।’
‘अबको स्थानीय निर्वाचनमा चैनपुरको ११ वटै वडामा काँग्रेसले झन्डा गाड्ने मात्र होइन, प्रदेश र संसदीय निर्वाचनसमेत नेपाली कांग्रेसको पक्षमा हुने विश्वास दिलाउँछु’, शंकरमानले भने, ‘त्यसका लागि मैले मात्र होइन, सबै साथीहरुले त्याग र उदारता देखाएर पार्टीलाई सबल, सुदृढ र बलियो बनाउन दत्तचित्त भएर लाग्नुपर्छ ।’
प्रतिक्रिया