नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत शनिबार देखि भएको गाउँ तथा नगर अधिवेशन संखुवासभामा पनि सम्पन्न भएको छ । जिल्लाको १० ओटै पालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले पालिका स्तरमा कांग्रेसको विभिन्न पदका लागि नेतृत्व चयन गरेको छ ।
खाँदबारी नगरपालिकामा गणेश कार्की, पाँचखपन नगरपालिकामा विष्णु कुमार कार्की, चैनपुर नगरपालिकामा शंकरमान कडेल, मादी नगरपालिकामा यादव खड्का र धर्मदेवी नगरपालिकामा बद्री बहादुर घिमिरे सभापति पदमा चयन भएका छन् ।
त्यस्तै चिचिला गाउँपालिकामा दिनेश राई, शिलिचोङ गाउँपालिकामा भुपालराज मेवाहाङ, मकालु गाउँपालिकामा ओंदि शेर्पा, भोटखोला गाउँपालिकामा पासाङ खम्बा भोटे र सभापोखरी गाउँपालिकामा जितेन्द्र लिम्बु सभापति पदमा चयन भएका छन् । खाँदबारी नगरपालिका र मकालु गाउँपालिकामा सभापति पदका लागि निर्वाचन गरिएको थियो भने अन्य ८ वटा पालिकामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया