खाँदबारी । नेपाली काँग्रेसको १४ औं जिल्ला अधिबेसनको मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना कार्य शुरु भएको छ । शनिबार बेलुकी करिब पाँच बजेबाट शुरु भएको मतदान प्रक्रिया आइतबार बिहान अबेर करिब ४ बजेतिर मात्रै सम्पन्न भएको थियो ।
राति पानी परेकाले मतदान प्रक्रिया केही प्रभावित भएको र एउटा बुथ पार्टी कार्यालय सारेर मतदान प्रक्रिया सम्पन्न गरेको हो । मतदान सम्पन्न भएपछि आइतबार बिहानै देखि मतगणना गर्ने कार्य शुरु भएको छ । काँग्रेसको पोखरीबजारको चाँदनी चौक स्थित पार्टी कार्यालयको सभाहलमा मतगणना शुरु भएको हो । प्रदेश (क) र (ख)को छुट्टा—छुट्टै मतगणना शुरुवात गरिएको निर्वाचन अधिकृत भरतराज उपाध्यायले जानकारी दिए । उनको अनुसार, प्रदेश (क)मा ६ सय ३८ मत र प्रदेश (ख) मा ७ सय १४ मत गरि कुल एक हजार तीन सय ५२ मत खसेको छ । संखुवासभामा एक हजार तीन सय ८९ प्रतिनिधीहरुले मतदान गर्न पाउनेछन् । यसरी हेर्दा ३७ जना मात्रै अनुपस्थित देखिएको छ ।
काँग्रेसको जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री दिपक खड्का र राईबहादुर राई बीच भिडन्त भएको थियो । भने उपसभापतिमा शेरबहादुर बन, अन्नत गौली र रामकुमार जिमी बीच प्रतिस्पर्धा भएको छ । त्यसैगरि सचिवमा छत्रमणी काफ्ले, कुमारबाबू अधिकारी र टकमान घले बीच प्रतिस्पर्धा भएको थियो भने सहसचिवमा किशोरकुमार गुरूङ, पासाङ भोटे, विमन पराजुली, सुवास कालाखेती, सूर्य ओझा प्रतिस्पर्धामा छन् ।
काँग्रेसको जिल्ला कार्यसमितिमा ४२ पद र केन्द्रिय महाधिबेसन प्रतिनिधीका लागि २६ पदका लागि मतदान भएको हो । कस–कसले बाजी मार्ला त्यो भने मत परिणाम आउन बाँकी छ ।


प्रतिक्रिया