व्यक्तिको लगानीमा सिद्धकाली मन्दिर सिंगारिदै


२३ आश्विन २०७८, शनिबार


संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित पूर्वको प्रसिद्ध तीर्थस्थल सिद्धकाली मन्दिर थप आकर्षण र महत्वको बन्दै गएको छ ।

सडक र यातायातको सुविधा थपिएकाले अहिले सिद्धकाली मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । सतीदेवीको दाहिने आँखा पतन भएको र चिताएको मनोकांक्षा सिद्ध हुने किंवदन्ती रहेको सिद्धकाली पछिल्लो समय आस्थाको केन्द्र बन्दै गएको छ ।

दसैंतिहार पर्वको रौनक बढेपछि मन्दिरलाई थप आकर्षक र सुन्दर बनाउन थालिएको छ । स्थानीय कृष्ण गोपाल श्रेष्ठले मन्दिरको आकर्षण बढाउन व्यक्तिगत लगानी गरिरहेका छन् । अहिले मन्दिरमा पित्तलको छानो लाउने काम भइरहेको छ । छानो राख्नको लागि १ सय ६४ किबी काठ र १ हजार ५४ केजी पित्तल प्रयोग भएको बताइएको छ ।

मन्दिरमा छानो लाउने काममा हालसम्म २७ लाख रुपैंया रकम खर्च भइसकेको छ । यसअघि उनैले मन्दिर परिसरमा ४१ लाख ६० हजार रुपैंया खर्च गरेर ढुंगा विछ्याएका थिए । दशैंपछी मन्दिरको थप मर्मत गरिने र त्यसको लागि थप १३ लाख रुपैंया खर्च अनुमान गरिएकोउनका भाई लव कुमार श्रेष्ठले बताए ।

मन्दिरका नाममा यतिका खर्च गर्ने सायदै मानिसहरु कम हुन्छन् । एक स्थानीयको नाताले पुर्वकै चर्चित शक्तिपिठलाई आकर्षक बनाउन उनको लगानी पर्याप्त नभएपनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न एक जना व्यक्तिले पनि सकेको गर्न सकिन्छ भन्ने यो बलियो उदाहरण पनि हो ।

 

सम्बन्धित समाचार