खाँदबारी । चिचिला गाउँपालिकाले सार्वजनिक प्रयोजनका लागि गाउँपालिका भित्र निशुल्क जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान गरेको छ । पालिकाको धार्मीक स्थल मत्स्यपोखरीको शिवलिङ्ग र बसाहाको मुर्तीको प्राणप्रतिष्ठा कार्यक्रमको समापनको दिन जग्गा दाताहरुलाई सम्मान गरेको हो ।
गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन तथा स्थल लगायतका प्रयोजनका लागि निशुल्क जग्गा दान गर्नेहरुलाई पालिकाले सम्मान गरेको हो । पाँचवटा वडा रहेको गाउँपालिकामा वडा नम्बर १ का १९ जना जग्गादाताहरु सम्मानीत भएका छन् । त्यस्तै वडा नम्बर २ का २२, वडा नम्बर ३ का ६२, वडा नम्बर ४ का ४७ र वडा नम्बर ५ का २५ जना दाताहरु सम्मानीत भएका हुन् । प्रत्येक वडामा त्यस बाहेक पनि जग्गादाताहरु हुनसक्ने र कोहि छुटेको भए बिवरण खोजी गरेर सम्मान गरिने गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, विशिष्ट अतिथी बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा र उपाध्यक्ष यदुकुमारी राईले संयुक्त रुपमा सम्मान हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको समृद्धिका लागि निशुल्क जग्गा दिएर सहयोग गर्नेहरुको सहयोगको उच्च मुल्याङ्कन गर्दै पालिका स्तरीय कार्यक्रमको आयोजना गरि सम्मान गरिएको पालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
प्रतिक्रिया