लागुऔषधसहित पर्साका एक युवक पक्राउ



पर्सा । साढे १३ सय एम्पुल प्रतिबन्धित लागुऔषधसहित पर्सा धोविनीका एक युवक पक्राउ परेका छन्। ना४५प ११६४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाइछिपाई सीमा उपारबाट ल्याउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।

पक्राउ पर्ने युवक पर्साको धोविनी गाउँपालिका-२ आसवारी बस्ने वर्ष २६ को दिवाकर कुमार साह रहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ स्थित बन्जारी पुलस्थित सडकखण्डमा भारतबाट भिस्वाको बाटो हुँदै एउटा मोटरसाइकल आइरहेको थियो। सो रोकेर चेकजाँच गर्दा मोटरसाइकलका चालक साहले बोकेको सेतो झोलाभित्र लागुऔषध फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए।

अभियुक्त साहले प्रतिबन्धित लागुऔषध नुर्फिन ४ सय ५० एम्पुल, डाइजोपाम ४ सय ५० एम्पुल र प्रोमिफाइजाम हाइड्रोकोलोराइड पनि ४ सय ५० एम्पुल नै गरी १ हजार ३ सय ५० एम्पुल ल्याएका रहेछन्।

सो परिणामको प्रतिबन्धित लागुऔषध फेला परेपछि प्रहरीले अभियुक्त साह र उनको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। साहलाई भने लागुऔषधसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार