गाउँमा भोकमरीको सम्भावना बढेपछि चामल माग्न हुम्लाबाट काठमाण्डौतिर



काठमाण्डौ । हुम्लाको नाम्खा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङ स्थानीय बासिन्दासँगै पाँच दिन पैदल हिँडेर सिमकोट एअरपोर्ट आइपुग्नु भएको छ ।

गाउँमा भोकमरी हुने भएपछि सरकारसँग हारगुहार गर्न उहाँ स्थानीय बासिन्दाको साथमा हिमाली भेगको कठिन बाटो पार गर्दै सदरमुकाम आइपुग्नुभएको हो । त्यहाँबाट नेपालगञ्ज हुँदै काठमाण्डौ आउन लागेको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।

हुम्लाका सांसद छक्कबहादुर लामाको साथमा उहाँ काठमाण्डौ आउन लाग्नुभएको हो । टिकट पाए र समयमा नै उडान भए आजै बेलुकी काठमाण्डौ आइपुग्ने वडाध्यक्ष तामाङले बताउनु भयो । ‘आज बेलुकी काठमाण्डौ पुग्न सके भोलि गाउँका समस्यालाई सरकारसमक्ष राख्दै समस्या समाधानका लागि आग्रह गर्नेछौँ ’ उहाँले भन्नुभयो ।

गाउँमा भोकमरीको समस्या हुने सङ्केत देखिएपछि तीन गाउँका स्थानीयको बैठक बसेर वडाध्यक्ष तामाङको नेतृत्वमा ३० जनाको टोली पाँच दिन हिँडेर हिजो हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको हो ।

तामाङले टेलिफोनमा भन्नुभयो, ‘यहाँ सीडीओलाई भेटेर समस्या सुनायौँ तर, उहाँ उल्टै हामीलाई नै जिल्लाका दुःख सुनाउनुहुन्छ । गाउँमा खाद्यान्नको समस्या रहेको थाहा पाएको छु, तर सदरमुकामको डिपोमा पनि चामल छैन, कहाँबाट पठाउँ भन्नुभयो । अब काठमाण्डौमा पुगेर सम्बन्धित मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई पीडा सुनाउँछौँ, राज्यले आफ्ना नागरिकलाई भोकै राखेर मार्छ कि समस्या समाधान गर्छ भनेर सोध्छौँ । यसपछि हामी गाउँ फर्कन्छौँ र हुम्लाको सदरमुकाम सिमकोटमा छोडेर आएका हाम्रा टोलीलाई सँगै लगेर गाउँ पुग्छौँ ।’

सम्बन्धित समाचार