चिचिला ३ को वडा भवन उद्घाटन



खाँदबारी । चिचिला गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । खर्सु तीन घरे टोलमा निर्मित भवन बुधबार औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

वडा अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईको प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा नम्बर २ का अध्यक्ष मिरबहादुर राई, कार्यपालिका सदस्य मुना राई, आर्थिक विकास समिति संयोजक बालकुमार तामाङ लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई, योजना शाखा प्रमुख सन्तोष राई लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो । भवनलाई प्रमुख अतिथी उपाध्यक्ष यदुकमारी राईले रिबन काटेटर उद्घाटन गर्नुभएको हो ।

यो भवन स्थानीय जग्गादाताहरुले निशुल्क उपलब्ध गराएको जग्गामा निर्माण गरिएको हो । उक्त भवन निर्माणको लागि अघिल्लो आर्थिक बर्षमा गाउँपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । ठेक्का मार्फत निर्माण गरिएको उक्त भवन सुनकोशी हलेशी निर्माण कम्पनीले निर्माण गरेको हो । ६३ लाख ८२ हजार पाँच सय ८ रुपैयाँमा निर्माण सम्झौता भएको उक्त योजनाका लागि भ्याट सहित ७३ लाख १४ हजार ३ सय ४७ रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।

यस अघि वडा नम्बर १ को वडा भवन उद्घाटन गरिएको छ । पाँच वडा रहेको चिचिला गाउँपालिकाको वडा नम्बर २ को भवन निर्माण सम्पन्न भएको र केहि दिनमा नै उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ को पनि निर्माणाधिन अवस्थामा छ । वडा नम्बर ५ को भने साविक गाउँ विकास समितिको भवनबाट नै सेवा प्रदान गरिदै आएको छ । चालु आर्थिक बर्ष भित्र सवै वडा र गाउँपालिकाको भवन निर्माण सम्पन्न गरि आफ्नै भवनबाट सेवा दिने लक्ष्य लिएको गाउँपालिकाका उपाध्यक्ष यदुकुमारी राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार