खाँदबारी । स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ मनाईएको उद्योग दिवसको अवसरमा सङ्खुवासभाका पाँच साना उद्योगीहरु सम्मानीत भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका उत्कृष्ठ पाँच साना उद्योगीहरुलाई सम्मान गरेको हो ।
सम्मानीत हुनेहरुमा तिलक जुत्ता तथा चप्पल उद्योग खाँदबारी, जडिबुटी बोयर बाख्रा फर्म नुनढाकी, भएरेष्ट अर्गानिक तथा पशुपालन फर्म खाँदबारी, लोहाकोट बहुद्देश्यीय कृषी तथा पशुपालन फर्म चैनपुर र एस्.पि.एस् अल्लो तथा सुती उद्योग खाँदबारी रहेका छन् । जिल्लाका उद्यमीहरु मध्ये उत्पादन र बजारिकरणको आधारमा उत्कृष्ठ पाँच छनौट गरि पुरस्कृत गरिएको जिल्ला उद्योग अधिकृत प्रेमकुमार कुलुङले जानकारी दिनुभयो । पुरस्कृत हुनेहरुले जनहि नगद पाँच हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् ।
उद्योग कार्यालयको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडा, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्य, जिल्लाका उद्योगी तथा ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयमा हालसम्म एक हजार चार सय तीन वटा उद्योग दर्ता भएका छन् । उक्त उद्योगहरुबाट गत आर्थिक बर्षमा ३४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस मध्ये उद्योग तर्फ २२ लाख ४ हजार दुई सय रुपैयाँ, बाणिज्य तर्फ १२ लाख ३ हजार पाँच सय रुपैयाँ र होमस्टे तर्फ १७ हजार पाँच सय रुपैयाँ संकलन भएको उद्योग अधिकृत कुलुङले जानकारी दिनुभयो । दर्ता भएका केहि उद्योगहरु निस्कृय रहेकोले नविकरण गरि सक्रिय बनाउने कार्य भईरहेको समेत अधिकृत कुलुङले बताउनुभयो ।
प्रतिक्रिया