दमक। जंगली हात्तीको आक्रमणबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार विहान भद्रपुर नगरपालिका ९ निवासी ६० वर्षीय रामबहादुर बुर्जा मगरको हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका वडा नं १४ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले बताउनुभएको छ ।
शुक्रबार विहान साढे ६ बजे मेचीनगर नगरपालिका १४ स्थित शनिबारे भन्ने स्थानमा चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जङ्गली हात्तीले आक्रमण गरेको र घटनास्थलमा नै मृत्यु भएको समेत प्रहरीले जनाएको छ । भारतीय जंगली हात्ती नेपाल प्रवेश गरेर स्थानीय जंगलहरुमा रहँदै आएका बताइन्छ ।
घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाएर आवश्यक अनुसन्धान शुरु गरिएको समेत जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रत्येक वर्ष धान र मकै पाक्ने समयमा भारतबाट नेपालतर्फ हात्तीहरु छिरेर जनधनको क्षति पुर्याउँदै आएका छन् । झापाका मेचीनगर, दमकलगायतका स्थानीय तहहरुमा हात्तीहरु देखिन थालेका छन् ।
झापामा हात्तीबाट हुने क्षति न्यूनिकरणका लागि विभिन्न प्रयासहरु भए पनि जनधनको क्षति हुने कार्य भने रोकिएको छैन । जलथलको चारकोशे जंगल, दमकको हम्सेदुम्से वन र अन्य विभिन्न सामुदायिक वनहरुमा हात्ती लुकेर बस्ने गरेका छन् । यिनीहरु आहाराका लागि बाहिर निस्कँदा मानिसहरुसँग जम्काभेट भएपछि मानवीय क्षति हुने गरेको छ ।झापामा एकदशको अवधिमा ५० जनाभन्दा बढीको हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।
‘जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका १५ वटा स्थानीय तह नै हात्तीबाट कुनै न कुनै रुपमा प्रताडित रहेका छन् । झापा जिल्ला नै जंगली हात्तीको उच्च जोखिमा रहेको छ र क्षति हुँदै आएको छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया