जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्यो



जाजरकोट । जाजरकोट बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाकै पहिचान खुलेको छ ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट(९ कुदु बराहचौरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई महिला, दुई जना पुरुष र एक जना बालिकाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा कुशे–९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली, आठबीसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, आठबीसकोट ४ की चार वर्षीया दिव्या शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार र सप्तरी राजविराजका ४० वर्षीय गंगाराम यादव रहेका प्रहरीले जनाएको छ ।

बसमा ३२ जना यात्रु रहेकामा २७ जना घाइते भएका थिए । प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको र अन्यको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार