खाँदबारी । राष्ट्रिय महिला आयोगले बुधबार लैङ्गिक हिंसा निवारण सम्बन्धमा सरोकावाला निकायसंग छलफल कार्यक्रम संचालन गरेको छ ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैङ्गिक हिंसा निवारण सम्बन्धी खाँदबारी नगरपालिकाको सभाहलमा छलफल कार्यक्रम संचालन गरेको हो । छलफल कार्यक्रममा रास्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुली, संखुवासभाका प्रत्येक पालिकाका उपप्रमुख, न्यायिक समितिका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, महिला प्रहरी कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न सामाजिक सस्थाका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी लगायत करीव ५० भन्दा बढीको सहभागितामा रहेको थियो ।
कार्यक्रमको समयमा बोल्दै खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले खाँदबारी नगरपालिका लैङ्गिक हिंसामुक्त बनाउने प्रतिबद्धता प्रस्तुत गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जिल्लामा शान्ति सुरक्षाका लागि पिडितको निष्पक्ष छानबिन गरि न्यायका पहुच दिलाउनको लागि जिल्ला प्रशासन कार्यालय संबेदनशील भएको प्रतिबद्धता प्रस्तुत गरेका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले नेपाल प्रहरीले महिला हिंसा रोकथामको सम्बन्धमा सेल नै गठन गरेर बिगत लामो समयदेखि काम गरिरहेको जानकारी दिए । उनका अनुसार जिल्लाको हकमा जिल्ला प्रहरी कार्यालयमा धेरै जसो महिला हिँसाकै घटनाहरु आइरहेको छ । प्रहरीले हेरिरहेको महिला हिंसाका सम्बन्धमा पहिलो श्रेणीमा जबर्जस्ती करणी उधोगका मुद्दा बढ्दै गएको तत्थ्यांक उनले प्रस्तुत गरेका थिए ।
त्यसै गरि जिल्लामा बहुबिबाह सम्बन्धि मुद्धा, महिलामाथि भएका घरेलु हिंसा बाहेक अन्य व्यक्तिबाट कुटपिट भएकाको सङ्ख्या पनि जिल्लामा बढ्दै गएको तथ्यांकमा रहेको जनाएको छ । नेपाल प्रहरीले महिला , बालबालिका, जेष्ठ नागरिकको हिंसा र अपराधको सम्बन्धमा आएको मुद्दाहरुको सम्बोधन गर्दै अग्र पङ्तिमा रहेर संबेदनशील भएर काम गरिरहेको जनाएको छ । यस्ता बिषयमा प्रहरीको मात्र एकल प्रयासले सम्भब नहुने भएकोले नागरिक समाज, स्थानीय निकाय र सम्पुर्ण व्यक्ति, व्यक्तिव कटिबद्ध भएर लाग्न उनले आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सम्वन्वय समितिका प्रमुख सुमन शाक्यले महिलाको समग्र जिबन चक्रमा ब्यबहारिक कुराहरुलाई कानुन र ब्यबहारमा मिलाउदै लैजानुपर्छ भन्ने कुरामा जोड दिए । उक्त कार्यक्रममा मकालु गाउँ पालिकाकी उपप्रमुख चमेली राई, जिल्ला अस्पतालका मे सु डा। सुन्दर श्याम झा, राजनीतक दलका प्रतिनिधिले हिंसा मा बाट र घरबाट अन्त्य गरिनुपर्छ भन्ने आ आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन आयोगका उपसचिव अन्जु ढुंगाना ले गरेका थिए ।
प्रतिक्रिया