विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारको टुङ्गो लगाएका छन् । बिहीबार बेलुका संस्थापनइतर पक्षले गुरुराज घिमिरे र संस्थापन पक्षले उद्धव थापाको नाम टुङ्गो लगाएका हुन् ।
आज मनोनयन र शनिबार मतदान गर्ने कार्यसूची छ । उम्मेदवारी टुङ्गो लागेपछि दुवै पक्षका नेता चुनावी अभियानमा जुटेका छन् ।
सभापतिका उम्मेदवार थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । १४औं महाधिवेशनमा सिटौला(शेबहादुर देउवाको टिम बनेको छ । सिटौलाको साथ पाएपछि प्रदेशमा दरिलो उपस्थिति जमाएका देउवाले प्रदेशको सभापति सिटौलालाई दिएका हुन् । सिटौला पक्षबाट तारामान गुरुङ पनि दाबेदार थिए । उनी अन्तिम समयमा ब्याक भएका छन् । संस्थापनइतर पक्षका दाबेदार राजीव कोइरालालाई पनि ब्याक गराइएको छ ।
दुवै पक्षलाई अन्तर्घातको डर
झापाका बासिन्दा थापा नेपाली कांग्रेस झापाका पूर्वसभापति हुन् । उनले दुई कार्यकाल जिल्ला चलाएका छन् । मोरङका घिमिरेसँग जिल्ला चलाएको अनुभव छैन । दुई कार्यकाल केन्द्रीय सदस्य बनेका उनी नेपाल विद्यार्थी संघको पूर्व सभापति पनि हुन् ।
दुवै पक्षले चुनाव जित्ने दाबी गर्दै प्रचार प्रसारमा गरिरहेका छन् ।
प्रदेश १ का १४ मध्ये ८ जिल्लाको नतिजा आफ्नो पक्षमा पारेको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ । तर देउवा पक्षले टिकट नपाएका कारण अन्तरघात हुने डर पनि छ ।
१३औं जिल्ला अधिवेशनमा देउवा पक्षले प्रदेश १ का तीन जिल्ला मात्रै जितेको थियो । तर सिटौलाको साथ पाएपछि ८ वटा जिल्लामा आफ्नो नेतृत्व स्थापीत गरेको छ ।
संस्थापनइतर पक्ष १४औं अधिवेशनमा ६ जिल्लामा खुम्चिएको छ । जिल्लाको नतिजा राम्रो भएकाले चुनाव जित्ने संस्थापन पक्षका नेता हिमाल कार्की बताउँछन् ।
प्रदेशमा आउने प्रतिनिधि आफ्नो समूहका धेरै भएकाले जित्ने कोइराला पक्षका नेता केदार कार्कीको दाबी छ । उनी प्रतिनिधिको अनुपात ६० प्रतिशत संस्थापनइतर पक्ष र ४० प्रतिशत संस्थापन पक्षको रहेको बताउँछन् ।
चुनाव जित्ने दाबी गरिरहँदा रामचन्द्र पौडेल र डाक्टर शेखर कोइराला पक्षलाई सुनसरीबाट अन्तरघात हुने डर छ । सुनसरीबाट राजीव कोइरालाले सभापतिमा दाबी गरेका थिए । अन्तिम समयमा उनले टिकट पाएनन् । टिकट नपाएपछि कोइराला पक्षका सुनसरीका नेताहरूले असहयोग गर्ने चेतावनी दिएका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएका गुरुराज घिमिरे आफैं स्थापित नेता भएका कारण चुनाव जित्न सहज हुने कोइराला(पौडेल पक्षको दाबी छ । १४औं महाधिवेशनमा युवा प्रतिनिधिको सहभागिता उल्लेख्य छ । विद्यार्थी राजनीतिबाट आएका कारण घिमिरेलाई दुवै पक्षका नेताको साथ रहने संस्थापनइतर पक्षको विश्लेषण छ ।
सभापति शेरबहादुर देउवा पक्षले धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा, उदयपुर जिल्ला जितेको छ । सिटौला पक्ष झापामा विजयी भएको छ । मोरङ सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा संस्थापनइतर पक्ष बिजयी भएको छ ।
प्रदेश अधिवेशनमा एक हजार सात सय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । जिल्लाको चुनावमा मतअन्तर धेरै फराकिलो नभएका कारण दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ । तर सुनसरी मोरङमा प्रतिनिधि धेरै भएका कारण आफूहरु जित्ने कोइराला पक्षका नेता केदार कार्की बताउँछन् ।
प्रतिक्रिया