स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने क्लिनिक र डाक्टरलाई ६ लाख जरिवाना



काठमाडौं । स्वास्थ्य परीक्षणको गलत रिपोर्टका कारण वैदेशिक रोजगारीबाट फर्काइएका एक पीडितले चिकित्सक र स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति पाउने भएका छन् । इजरायलबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको हो ।

सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिमा डा। बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल पुगेका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा दम रोगी भएको पुष्टि भएपछि किरण बस्नेत नेपाल फर्काइएका हुन् ।

‘चिकित्सकले व्यवसायिक जिम्मेवारी पूरा नगरी ग्राहकको उपचारमा हेलचेक्र्याईं गरेको कारणले सेवाग्राहीलाई पर्न गएको असरको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने देखिन्छ’ न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै रोगको सम्भावना नभएको देखाएको छ । डा। बुद्ध बस्न्यात तथा नेपाल इन्टरनेशनल क्लिनिकले पीडित किरण बस्नेतको स्वास्थ्य परीक्षण गर्ने क्रममा हेलचेक्र्याईं एवं लापरवाही गरेकाले मानसिक, आर्थिक र शारीरिक तथा भौतिक क्षति व्यहोर्नुपरेको देखियो ।’

सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटन र जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको हो । चिकित्सक बस्न्यातबाट ३ लाख र स्वास्थ्य संस्थाबाट ३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनु भनी आदेश गरेको हो । २०७२ साल माघ ७ गते सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ हालै तयार भएको हो ।

वैदेशिक रोजगारीमा जानको निम्ति स्वास्थ्य जाँच गरिरहेको अवस्थामा क्लिनिक अझ बढी संवेदनशील भई स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले पछि हावापानी परिवर्तन भएमा हुनसक्ने जोखिमका वारेमा पनि जानकारी गराउनु चिकित्सक र क्लिनिकको दायित्वमा पर्ने भनी व्याख्या गरेको हो ।

फैसलामा भनिएको छ, ‘पहिले स्वास्थ्य परीक्षण गर्दा नै सम्भावित जोखिमको बारेमा थाहा हुँदाहुँदै उपभोक्तालाई नबताउनुले चिकित्सकले आफ्नो दायित्व उपयुक्त तवरबाट निर्वाह गरेको देखिएन ।’

स्वास्थ्य परीक्षण सेवा अन्तर्गत सेवाग्राहीलाई यथार्थपरक पूर्ण स्वास्थ्य विवरण प्राप्त गर्ने हक हुने भन्दै सर्वोच्च अदालतले त्यस्तो सेवामा कार्यरत चिकित्सक र सम्बन्धित स्वास्थ्य संस्थाले यथार्थपरक प्रतिवेदन बनाउनुपर्ने भनी व्याख्या गरेको हो । सेवाग्राहीलाई कुनै नोक्सानी भएमा त्यस्तो चिकित्सकको प्रत्यक्ष र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको अप्रत्यक्ष दायित्व हुने भन्दै सर्वोच्च अदालतले बस्नेतको हकमा तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको हो ।

फैसलामा भनिएको छ, ‘यदि गलत वा हेलचेक्र्याईंपूर्ण तरिकाले तयार पारिएको प्रतिवेदनबाट रोगको गलत पहिचान वा उपचार गरेमा सेवाग्राहीलाई हानी नोक्सानी भएमा चिकित्सकीय लापरवाही भएको दुष्कृतिजन्य कार्य मानिन्छ ।’

सम्बन्धित समाचार