संखुवासभाको समृद्धीका लागि जिल्लाबासीको चासो



संखुवासभा । संखुवासभाको समग्र विकास र समृद्धीका लागि पाठकधारा टोल विकास संस्थाले चासो बढाएको छ । आइतबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै संस्थाले जिल्लाको समृद्धीका लागि जिल्लाबासीको भूमिका र संखुवासभामा जन्मिएर नेतृत्व तहमा पुगेकाहरुको भूमिका के रहने र के गर्न सक्ने बारेमा छलफल भएको थियो ।

संस्थाका अध्यक्ष भीम बहादुर कट्टेलले संस्थाले स्थापनाकाल देखि हालसम्म गरेका कार्य र त्यसबाट भएका उपलब्धीका बारेमा बोल्दै अब जिल्लाको विकास गतिविधिमा समेत संस्था मात्र नभई जिल्लाबासी अघिबढ्नु पर्ने बताए । संखुवासभाबासीको लगानी, जिल्लाबासीको लगानी र विद्युत विकास र रोजगारमा विशेष ध्यान, समृद्ध संखुवासभा निर्माण हाम्रो अभियान संयुक्त नाराका साथ संस्था अघि बढेको उनको भनाई छ ।

संस्थाले गत कार्तिक १७ गते खाँदबारीमा जिल्लाबाट नेतृत्व तहमा पुगेका ५ जना विज्ञसँग अन्तरक्रिया कार्यक्रम गरि राय सुझाव संकलन गरेको थियो । अन्तरक्रिया कार्यक्रममा बरिष्ठ हाइड्रो इन्जिनियर शैलेन्द्र गुरागाई, डा. बल बहादुर पराजुली, नेपाल सरकारका सचिव दिनेश कुमार घिमिरे, डा. हिरामणी घिमिरे र डा. अर्जुन कार्की रहेका थिए । उक्त विज्ञ टोलीको राय अनुसार संखुवासभा विद्युत उत्पादनको मुख्य केन्द्र बन्न सक्ने र विद्युतमा जिल्लाबासीको लगानी हुनुपर्ने छ ।

पछिल्लो समय चर्चामा रहेको १०६१ मेगावाट उत्पादन क्षमता रहेको अपर अरुण सबैभन्दा सस्तो रेटमा निर्माण हुने र नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा निर्माण हुने भएकाले उक्त मेगा प्रोजेक्ट संखुवासभालीहरुको लगानी, अपनत्व र स्वामित्वमा निर्माण गर्न पहल गर्नु पर्ने विज्ञहरुको सुझाव र जिल्लाबासीको माग समेत रहेको छ ।

जस्का लागि शीघ्र समयमानै जिल्ला समन्वय समितिका प्रमुखको संयोजनमा सबै दलका प्रमुखहरु, आयोजना प्रभावित क्षेत्र भोटखोला र मकालु गाउँपालिकाका प्रमुख, प्रदेश र संघीय माननीयहरु पुर्ण प्रसाद राई र राजेन्द्र प्रसाद गौतम, पाँच जना विज्ञहरु काठमान्डौ जाने अन्तिम तयारी रहेको अध्यक्षले बताए । काठमान्डौमा अर्थमन्त्री, उर्जा मन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समक्ष ध्यानाकर्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।

 

सम्बन्धित समाचार