विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाको चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंगो लगाउने बताएका छन्। बुधबार बिहान सरकारी निवासमा सरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीसँगको कुराकानीमा चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंग्याउने बताए।
यस्तै‚ उनले चाँडै मन्त्रिपरिषद बिस्तार गर्ने बताए। मन्त्रिपरिषद बिस्तारपछि मात्रै संसद्को बैठक बोलाउने समेत बताए। ‘नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का नेताहरू अधिवेशनमा व्यस्त भए‚’ उनले भने, ‘दलका नेताहरू फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने र संसद् बैठक बस्ने छौँ।’
कात्तिक १५ गते मुख्यमन्त्री नियुक्त भएका राई आज सुनसरी मोरङ सिँचाई आयोजनाको सरकारी भवनमा सरेका छन्। नियुक्तिको दुई दिन होटलमा बसेका मुख्यमन्त्री राई त्यसपछि राष्ट्र बैंक विराटनगरको गेष्ट हाउसमा बस्दै आएका थिए। खर्च कटौती गर्ने उद्देश्यले सरकारी निवसमा प्रवेश गरेको बताउँदै उनले अन्य मन्त्रीका लागि पनि सरकारी निवास व्यवस्था गर्ने प्रयास भइरहेको बताए। उनले काठमाण्डौमा रहेको सम्पर्क कार्यालय बन्द गरेको बताए।
‘मासिक करिब ४ लाख खर्च लाग्ने व्यवस्था काठमाडौंमा खोलिएको सम्पर्क कार्यालयलाई नचलाउने भन्ने निर्णय छ, बन्द पनि भइसकेको छ,’ उनले भने, ‘हामी काठमाडौं जाँदा बस्नका लागि सरकारी भवन नै उपलब्ध छ हामी त्यसैमा रहन्छौं।’
आयोजनाको भवनमा यसअघि प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ बसेका थिए। केही समय प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बसेका थिए। तर, निवास मन नपरेको भन्दै उनी अन्यत्र सरेपछि त्यहाँ पूर्वमन्त्री उषाकला राई बस्न थालेकी थिइन्।


प्रतिक्रिया